सुनसरी । धरान खेलकुद मञ्चले धरान स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत बिभिन्न सात बिधामा पर्न सफल खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।
मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी उत्कृष्ट धरान बर्ष खेलाडीसहितको बिभिन्न सात बिधाको लागि मनोनयनमा परेका महिला र पुरुष खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।
मञ्चका सल्लाहकार एवं टेबलटेनिस प्रशिक्षक राजेशमान श्रेष्ठ संयोजक, सल्लाहकार एवं कराते प्रशिक्षक दिपेश शाक्य र मञ्चका सदस्य सचिव एवं शारीरिक सुगठनका प्रशिक्षक बिक्रम लिम्बू सदस्य रहेको तीन सदस्यीय छनौट समितिले मनोनयन गरेका खेलाडी तथा प्रशिक्षकहरुको नाम सार्वजनिक गरिएको अध्यक्ष किशोर राईले जानकारी दिए ।
विभिन्न विधाका १४ जना खेलाडीहरुले अवार्डको लागि दिएको निवेदनका आधारमा छनौट समितिले नाम सार्वजनिक गरेको राईले बताए ।
यस संस्करणको उत्कृष्ट धरान बर्ष खेलाडी पुरुषको लागि साहिल राई, निगम राई, अवतार श्रेष्ठ, निरज तामाङ र सिद्धान्त सापकोटा मनोनयनमा परेका छन् ।
साहिल र निगम सितेरियो करातेका खेलाडी हुन् भने अवतार शारीरिक सुगठनका खेलाडी हुन् । निरज र सिद्धान्त गल्फ खेलाडी हुन् ।
महिलातर्फ बर्षा राई र सलिना जोगी मनोनयनमा परेका छन् । उनीहरु दुबैजना सितेरियो कराते खेलाडी हुन् ।
१५ बर्ष मुनिका बाल खेलाडीहरुलाई प्रोत्साहित गर्न प्रदान गरिने द राईजिङ स्टार विधामा सुलेखा ठाकुर, गौतम तामाङ र श्रेया सुवेदी मनोनयनमा परेका छन् । तीनैजना टेवलटेनिस खेलाडीहरु हुन् ।
उत्कृष्ट प्रशिक्षक अवार्डको लागि किरण लामा, गीता थापा र श्याम तामाङ मनोनयनमा परेका छन् । किरण करातेका प्रशिक्षक हुन् भने गीता टेवलटेनिस र श्याम साइक्लिङ प्रशिक्षक हुन् ।
मनोनयनमा परेका मध्येबाट एक–एक जनालाई उत्कृष्ट धरान बर्ष खेलाडी, उत्कृष्ट प्रशिक्षक र राइजिङ स्टार अवार्ड दिइनेछ । यस्तै एक जना उत्कृष्ट खेल पत्रकारलाई समेत एवार्ड दिइने आयोजकले जनाएको छ ।
उत्कृष्ट धरान बर्ष खेलाडी महिला र पुरुषले जनही नगद ३० हजारसहित अवार्ड पाउनेछन् भने उत्कृष्ट बर्ष प्रशिक्षकले नगद २० हजारसहित अवार्ड हात पार्नेछन् । यस्तै, द राईजिङ स्टार खेलाडी र उत्कृष्ट खेल पत्रकारले नगद १५ हजार पाउनेछन् ।
कार्यक्रममा पारा ओलम्पिकमा पदक जित्ने धराने खेलाडी विवेक राईलाई पनि नगद १० हजारसहित विक्रम राई स्मृति अवार्डबाट पुरस्कृत गरिने मञ्चका अध्यक्ष राईले जानकारी दिए ।
उनीहरुलाई आगामी शनिबार एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिने मञ्चले जनाएको छ ।
खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले धरान खेलकुद मञ्चले प्रत्येक बर्ष ‘स्पोर्टस अवार्ड’ प्रदान गर्दै आएको छ ।
View : 360
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved