विराटनगर । नेपाली कांग्रेसको केन्द्रमा जारी रहेको महाधिवेशन विवादले कोशी प्रदेश सरकारमा हुने भनिएको मन्त्री हेरफेर रोकिएको छ ।
पुस १८ गते शुक्रबार नै अहिलेका मन्त्रीहरुलाई बिदा गरेर एमाले र कांग्रेसबाट नियुक्त हुने नयाँ मन्त्रीहरुलाई सपथ गराउने यसअघिको तयारी अन्तिम समयमा रोकिएको हो ।
एमाले कोशी प्रदेशसभा संसदीय दलका एक नेताले दिएको जानकारी अनुसार कांग्रेसभित्र केन्द्रमा चुलिएको विवादले मन्त्रीहरुको हेरफेर तत्काललाई रोकिएको हो ।
‘एमालेबाट मन्त्री बन्ने नामहरु लगभग अन्तिम भइसकेको छ’, एमालेका ती नेताले भने ‘कांग्रेसबाट पनि लगभग टुंगो लागेको थियो । तर, केन्द्रमा चुलिएको महाधिवेशन विवादले तत्काललाई रोकिएको हो ।’
मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका एमाले नेताहरुले कोशीमा मन्त्रीहरु छिटै हेरफेर हुने बताइरहेका थिए ।
सोही अनुसार एमालेबाट धनकुटाका इन्द्रमणि पराजुली, संखुवासभाका विदुरकुमार लिङ्थेप, झापाका चिन्तन पाठक र सुनसरीका रामप्रसाद मेहता लगायतका प्रदेश सांसदहरुको नाम नयाँ मन्त्री बन्ने सूचीमा छ ।
धनकुटाका पराजुली दुईपटक सांसद भइसकेका नेता हुन् भने लिङथेप अहिले प्रमुख सचेतक छन् ।
‘अन्तिम समयमा फेरबदल भएन भने एमालेबाट हुने उहाँहरु नै हो,’ एमाले स्रोतले भन्यो ।
त्यस्तै कांग्रेसले पनि केन्द्रीय सदस्य ओखलढुंगाका प्रदीप सुनुवारको नेतृत्वमा अर्का केन्द्रीय सदस्य भीम पराजुली मोरङ, इस्राइल मन्सुरी सुनसरी, मानबहादुर लिम्बू मोरङ र शोभा चेम्जोङ मोरङ लगायतको नाम मन्त्री बन्ने सूचीमा राखेको थियो । यद्यपि केन्द्रमा पार्टी संस्थापन र महामन्त्रीहरुबीच महाधिवेशनबारे चर्केको विवादले कांग्रेसले नाम टंगो गरिनसकेको हो ।
स्रोतका अनुसार केन्द्रको विवादले कोशीमा कसलाई मन्त्री बनाउने भन्ने विषयले तत्काल प्राथमिकता पाउन नसकेको हो । कोशी सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले मन्त्रीपरिषद चाँडै हेरफेर हुने बताएका छन् ।
त्यसो त गएको साउन–भदौभित्र मन्त्रीपरिषद पुनर्गठनको तयारी थियो । तर, मुख्यमन्त्री कार्की र उनको दल नेकपा एमाले कोशी प्रदेश कमिटीबीच कुरा नमिल्दा प्रदेश सरकारको मन्त्रिमण्डल हेरफेर अड्किएको थियो ।
मुख्यमन्त्री कार्र्की साउन पहिलो साता नै एमाले मन्त्रीहरु फेर्ने तयारीमा थिए । उनले सत्ता सहयात्री दल कांग्रेसका नेताहरुलाई ‘एमालेका मन्त्रीहरु फेर्ने’ जानकारी नै दिइसकेका थिए ।
तर, यसअघि आफैंले बनाएको मापदण्ड विपरीत मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीलाई निरन्तरता दिन चाहेका थिए । त्यसले पनि रोकिएको हेरफेर एमाले महाधिवेशनले पर धकेलिएको थियो ।
मुख्यमन्त्री कार्कीले महाधिवेशनका बेला मन्त्रीको आश्वासन दिंदै फकाएका सांसदहरु पनि कोशीमा धेरै थिए ।
कोशीमा कांग्रेस र एमालेबीचमा कम्तीमा एउटा आर्थिक वर्षको बजेट ल्याएपछि प्रदेशमा मन्त्री परिवर्तन गर्ने सहमति थियो ।
एमाले सांसदहरुका अनुसार पार्र्टीबाट मन्त्रिमण्डलमा पठाउँदा यसअघि केन्द्रीय संसदमा प्रतिनिधित्व गरिसकेका, दुईपटक प्रदेशसभामा छानिएकाहरु तथा समावेशीताका आधारमा पठाइने मापदण्ड बनाएको थियो । साथै कम्तीमा एक आर्थिक वर्षको बजेट ल्याउन दिने पनि उल्लेख थियो ।
कोशीमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, खानेपानी सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारी छन् । सिर्जना राई राज्यमन्त्रीको भूमिकामा छन् ।
नेपाली कांग्रेसबाट अहिले भूपेन्द्र राई भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री छन् । उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गाम, पर्यटन, वन तथा वातावरणमा सदानन्द मण्डल र भौतिक पूर्वाधार राज्यमन्त्री भूमि राजवंशी छन् ।
View : 242
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved