Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मनमोहन विश्वविद्यालय आयुर्वेदिक औषधि उत्पादन गर्ने तयारीमा

उद्‌घोष संवाददाता
१० असार २०८२, मङ्गलवार

विराटनगर । उच्च शिक्षालाई खोज, अनुसन्धानमूलक, नवप्रवर्तनमुखी र व्यावसायिक बनाउन अनुसन्धान केन्द्र स्थापना गरेको मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधिहरूको उत्पादन तयारी सुरु गरेको छ ।

विश्वविद्यालयले नेपालकै जडिबुटी प्रयोग गरेर औषधिजन्य तेल तथा बामको व्यावसायिक उत्पादन गर्न तयारी सुरु गरेको हो । 

विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले सञ्चो प्रकारका तेल र बाम उत्पादन गरी त्यसको अहिले व्यावसायिक परीक्षण भइरहेको बताएका छन् । विश्वविद्यालयको आफ्नै अनुसन्धान केन्द्र र जनशक्तिले उत्पादन गरेको औषधिजन्य उत्पादनको व्यावसायिक नामका लागि सार्वजनिक अपिल गर्ने तयारी पनि भइरहेको उनले बताए ।

विश्वविद्यालयले चालु शैक्षिक सत्रमा सञ्चालन भइरहेको १० वटा अनुसन्धानमध्ये २ वटा अनुसन्धानलाई ब्याक्टेरियोफेज सम्बन्धी अनुसन्धानमा अघि बढाइरहेको जनाएको छ ।

त्यस्तै नेपाली जडिबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार गर्ने विशेष अनुसन्धानलाई विशेष महत्व दिइएको विश्वविद्यालयका उपकुलपति डा. पोखरेलले जानकारी दिए । उनले आफ्नै प्रयोगशालामा अनुसन्धान गरी आयुर्वेदिक औषधिहरूको उत्पादनको तयारी भइरहेको बताए ।

कोशी प्रदेश सरकारअन्तर्गत २०७६ सालमा मनमोहन प्राविधिक विश्वविद्यालयमा रुपान्तरित भएको मनमोहन पोलिटेक्निक देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । 

देशकै पहिलो प्राविधिक विश्वविद्यालय भएपनि प्रदेश सरकारबाट अपेक्षित रुपमा बजेट विनियोजन नभएको उपकुलपति पोखरेलले दुखेसो गरेका छन् ।

उपकुलपति डा. पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालमा प्राविधिक शिक्षालाई केवल प्रमाणपत्रकै रूपमा नभई व्यावहारिक दक्षतासँग जोड्ने अभ्यासलाई सशक्त रूपमा अघि बढाएकोले सोहीअनुसारको बजेट हुनुपर्ने माग गरेका हुन् । 

विश्वविद्यालयले प्राबिधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सबै कार्यक्रममा गरी विश्वविद्यालयमा ९ सय ६६ जना विद्यार्थी अध्ययनरत छन् ।

नेपालको समृद्धिको ढोका प्राविधिक शिक्षा र नवप्रवर्तनले मात्र खोल्न सक्ने उल्लेख गर्दै मनमोहन विश्वविद्यालय प्रदेशकै मात्र नभएर राष्ट्रकै प्राविधिक नेतृत्वकर्ता बन्ने दिशामा अघि बढिरहेको उपकुलपति डा. पोखरेल बताउँछन् । 

उनले सोहीअनुसार विश्वविद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्दै डिजिटल प्रणालीको उच्चतम प्रयोगमार्फत शिक्षण प्रणालीलाई आधुनिक बनाउने प्रयास भइरहेको बताए ।

View : 966

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved