गाउँ सुद्ध्याइँका लागि गरिएको धार्मिक सभामा सहभागी हिन्दु धर्ममा फर्किएकालगायत स्थानीय बासिन्दा । तस्वीर : कमल/उद्घोष
सुनसरी । धर्म परिवर्तन गरी क्रिस्चियन भएकाहरु पुनः हिन्दुमै फर्कन थालेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकाका एक हजार ५ सय जना हिन्दु धर्ममा फर्किएकाले गाउँ सुद्ध्याइँका लागि हवन गरिएको छ ।
देवानगञ्जका यतिका मानिसलाई धार्मिक अभियन्ताहरुले पहल गरेर पुनः हिन्दु धर्ममै फर्काएका हुन् । यसरी परम्परादेखि मानेको धर्ममा फर्कनेमा बसै भन्दा बढी मुसहर समुदाय छन् । थोरैको संख्यामा बाँतर र थारु पनि रहेको बताइएको छ । शनिबार आयोजित धार्मिक सभामा धार्मिक बिधि गरेर गाउँलाई शुद्ध पारिएको बताइयो ।
विश्व हिन्दु परिषदले गाउँ सुद्ध्याइँका लागि गरेको धार्मिक सभामा पाँच ठाउँमा हवन कुण्ड बनाइएको थियो । हवनको नजिकै बसेर धेरै जसो हिन्दु धर्ममा फर्कनेहरुले प्रायश्चित गरेका थिए । उनीहरुले पुरोहितसँग ‘ओम् स्वाहा’ को उच्चारण गरेर हवन गरेका थिए । हिन्दु धर्म परिवर्तन गरेर क्रिश्चियन बनाउनेहरुको अभियानलाई अब बिफल पार्ने स्थानीयको भनाइ छ ।
गरिव आदिवासी जनजाति समुदायका मानिसलाई धर्म परिवर्तन गरेर क्रिश्चियन बनाउने अभियानमा गैर हिन्दुहरु लागेको कार्यक्रममा बताइयो । महासंघ मातहतको हिन्दु स्वयम्सेवक संघका केन्द्रीय सहसचिव महेन्द्र साहका अनुसार हिन्दु धर्ममा इश्वर, परमेश्वर सुनिरहेका सोधासिधा मानिसलाई पिता परमेश्वरको आराधना गर्ने बताएर क्रिश्चियन बनाइने गरिएको छ ।
‘पिता परमेश्वर भनेर झुक्याई प्रार्थना गर्न लगाइन्छ र पछि भगवानको फोटो देखाएर गाली गर्न लगाइन्छ’ साहले भने । हिन्दु धर्मका अभियन्ता तथा रौतहटबाट निर्वाचित स्वतन्त्र सांसद किरण साहले पिछडिएको बस्तीका बासिन्दालाई धर्म परिवर्तन गराउनेहरु सक्रिय रहेको बताए । आर्थिक प्रलोभन दिएर तथा साप्ताहिक प्रार्थनमा भाग लिनेलाई रकम दिने गरेर क्रिश्चियन धर्ममा आकर्षित गर्ने गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय तथा प्रदेशसभा सदस्य भीम पराजुली धर्म परिवर्तन गराउनु अपराध भएको बताउँछन् । जन्मदेखि मृत्युसम्मको परम्परागत संस्कार मानेर आएका मानिसलाई रकमको प्रलोभन दिएर धर्म परिवर्तन गराइने गरिएको उनको भनाइ छ । मोरङको जहदा गाउँपालिकामा डनबस्को स्कुल स्थापना भएपछि आसपासका आदिवासी समुदायलाई धर्म परिवर्तन गराइएको थियो ।
त्यहाका गरिब आदिवासीहरु अहिले ९५ प्रतिशत हिन्दु धर्ममै फर्किएको बताइएको छ । विश्व हिन्दु परिषद मातहतको हिन्दु स्वयम सेवक संघले धर्म परिवर्तन नगरुन् भनेर गरिव आदिवासी जनजाति समुदायका बालबालिकालाई छात्रावासमा राखेर शिक्षा दिंदै आएको छ । देशभरीमा ११ वटा छात्रावास छन् । उनीहरुलाई पढाउन पशुपति शिक्षा मन्दिरहरु स्थापना गरिएका छन् । देशका २७ ठाउँमा यस्ता विद्यालयहरु सञ्चालित छन् ।
गरिव, आदिवासी जनजातिका बालबालिका पढ्ने शिक्षा मन्दिरलाई सहयोग गर्दै आएका समाजसेवी दिनबन्धु गोयल आशा देखाएर धर्म परिवर्तन गराउनु नहुने बताउँछन् । गोयलको पहलमा मोरङको कटहरीमा शिक्षा मन्दिर स्थापना भएर सञ्चालनमा छ । सबै जाति र धर्मलाई सम्मान गर्ने गोयल लोभ देखाएर धर्म परिवर्तन गरिने गरिएकोमा दुःख ब्यक्त गर्छन् ।
विश्वका ६५ देशमा रहेको हिन्दु स्वयम्सेवक संघ नेपालमा २०४८ सालदेखि सक्रिय छ । केन्द्रीय सहसचिव साहका अनुसार धर्म परिवर्तन गराइन सक्ने र विद्यालय नभएका बस्तीहरुमा संघले एक शिक्षक राखेर विद्यालयहरु सञ्चालन गर्दै आएको छ ।
कोरोनाकाल अघिसम्म देशभरमा यस्ता विद्यालय २ हजार ४ सय रहेकोमा हाल एक हजार ६५ वटा भनें सञ्चालनमै छन् ।
View : 4009
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved