Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

राष्ट्रियसभा निर्वाचन

कोशीसहित देशैभर गठबन्धनको ‘क्लिन स्वीप’

उद्‌घोष संवाददाता
१२ माघ २०८२, सोमवार

विराटनगर । राष्ट्रियसभाको आइतबार सम्पन्न निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित भएका छन् । 

नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाबीचको गठबन्धनले सबै सिट ‘क्लिन स्वीप’ गरेको छ । यो निर्वाचनबाट राष्ट्रियसभामा  नेपाली कम्युनिष्ट पार्टीले सबैभन्दा धेरै क्षति व्यहोरेको छ । नेकपा शक्तिशाली गठबन्धनविरुद्ध एक्लै चुनाव लडेको थियो । 

आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको हो । यसक्रममा कोशीमा तीन जना सदस्य यो निर्वाचनले छानेको छ । 

कोशीमा अन्य समूहतर्फ कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने दलित र महिला सदस्य चुनावमार्फत छानिएका हुन् ।

कोशीबाट राष्ट्रियसभाको दलित सदस्यमा एमालेका सोमनाथ पोर्तेल र महिला सदस्यमा एमालेकै रोशनी मेचे निर्वाचित भएका छन् ।

एमालेबाट निर्वाचित दुवै जना झापाका हुन् । अध्यक्ष केपी शर्मा ओली निकट रहेर काम गरिसकेका यी दुवै झापालीले संसद्को माथिल्लो सदनमा ठाउँ बनाएका छन् । 

विजेता बन्ने क्रममा पोर्तेलले कूल ७ हजार ४ सय २३ मतभार प्राप्त गरेका छन् । उनले ६८ जना प्रदेशसभा सदस्यको मत पाउँदा स्थानीय तहका २०१ जनाको मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी नेकपाका खेम सुन्दासले २ हजार २७ मतभार प्राप्त गरेका छन् । उनलाई १८ जना प्रदेशसभा सदस्य र ५७  जना स्थानीय तहका प्रतिनिधिले मत दिएका थिए । 

महिला सदस्यमा निर्वाचित रोशनीले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रियसभाको यात्रा निश्चित गरेकी छन् । 

उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरेकी छन् । उनलाई २२ जना प्रदेशसभा सदस्यले मत दिएका छन् ।  

कोशीमा नेकपाका १७ जना मात्रै प्रदेश सांसद थिए । उनले  कांग्रेस, एमाले, जसपा गठबन्धनबाट ५ जना प्रदेश सांसदको मत आफूतिर तानेकी छन् । 

गठबन्धनका स्थानीय तहका  १७ जना मतदाताले पनि ‘क्रस’ मतदान गरेर नेकपाकी नमितालाई मत दिएका छन् । कोशीमा स्थानीय तहमा नेकपाका ३६ मतदाता हुन् । तर, नमिताले ५८ जनाको मत पाएकी छन् । 

गठबन्धनबाट तानेको मत नमिताका लागि पर्याप्त भएन । फराकिलो अन्तरले झापा धाइजनकी रोशनी मेचे माथिल्लो सदनमा पुगेकी हुन् ।

View : 175

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved