Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रश्नको घेराका बीच क्यानको साधारणसभा

उद्‌घोष संवाददाता
२७ वैशाख २०८३, आइतवार

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) ले पछिल्लो पटक २०८१ असोजयता साधारणसभा नगरेपछि नेतृत्व र कार्यशैली, एनपीएलको आर्थिक पारदर्शिता लगायतका विषयमा प्रश्न उठ्दै आएको थियो । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले प्राविधिक समस्याका रुपमा मात्रै साधारणसभा गर्न नसकिएको जवाफ दिंदै आएका थिए ।

सोमबारसम्म विराटनगरमा आयोजना गरिएको साधारणसभाले अब क्यानको आर्थिक पाटोको पारदर्शिता र नियमित गतिविधि अघि बढाउन बाटो खोल्ने जनाइएको छ । 

आइतबार विराटनगरमा आयोजित क्यानको साधारणसभाले नेपाली क्रिकेटको भविष्यलाई निर्देशित गर्ने महत्वपूर्ण निर्णयहरू गर्ने उद्घाटनमा जनाइएको छ ।

सभामा क्यानका पदाधिकारी, प्रदेश तथा जिल्ला संघका प्रतिनिधि, खेलाडी प्रतिनिधि र क्रिकेट सम्बद्ध विभिन्न व्यक्तित्वहरू सहभागी छन् ।

बैठकमा सन् २०२६ को वार्षिक क्यालेन्डरको समीक्षा, आर्थिक प्रतिवेदन, आगामी योजनाहरू, खेलाडी विकास कार्यक्रम, पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारी जस्ता विषयमा छलफल हुने बताइएको छ । 

क्यानले यसअघि गत पुसमा नै व्यस्त क्यालेन्डर सार्वजनिक गरिसकेको छ । 

जसमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आयोजना, विभिन्न उमेर समूहका राष्ट्रिय प्रतियोगिताहरू, अन्तर्राष्ट्रिय द्विपक्षीय सिरिज र आईसीसी तथा एसीसी स्पर्धाहरू समावेश गरिएका छन् । 

सभाले यी योजनाहरूलाई थप प्रभावकारी बनाउने र प्रदेशस्तरीय क्रिकेटलाई मजबुत पार्ने रणनीति तय गर्ने जनाइएको छ । 

साथै, विराटनगरलाई क्रिकेट हब बनाउने लक्ष्यअनुसार स्थानीय पूर्वाधार विकासमा जोड दिइने अपेक्षा गरिएको जनाइएको छ ।

साधारणसभाले क्यानको नेतृत्व, नीति तथा कार्यक्रम पारित गर्नुका साथै आगामी एक वर्षको कार्ययोजना पारित गर्ने र नेपाली क्रिकेटलाई व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउन मद्दत पुग्ने सहभागीहरूले बताए ।

यता क्यानभित्र देखिएका केही विवादलाई क्यानभित्रै छलफल गरेर टुङ्याइने सचिव पारस खड्काले बताए । 

उनले अहिले उठेका कतिपय विषयहरू व्यक्तिगत रुपमा कसैलाई केही कुरा चित्त नबुझेका कारण आफ्नो बोल्न पाउने हक अन्तरगत उठेको टिप्पणी गरे ।

सचिव खड्काले साधारण सभा लगत्तै संघलाई राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर नविकरण गरिने बताए ।

‘सबैजनाको कार्यव्यस्ताका कारण पनि क्यानदेखि एनपीएल लगायतको करका कुराहरु समयमै समेटिन समय लाग्यो, एनपीएलको दोस्रो संस्करण सकिएसँगै आर्थिक भार ठूलो भएका छन्’ सचिव खड्काले भने, ‘दुई संस्करणमा १५ देखि २० करोड रुपैयाँ लगानी भएको छ, ठूलो लगानी भएको हुँदा सरकारसमक्ष क्यानले कर छुटका लागि निवेदन गर्दैछौं, यो सबै कुरा गर्न समय लागेकोले साधारणसभामा केही प्राविधिक ढिलाइ भएको हो ।’

सचिव खड्काले सरकारले उच्च प्राथमिकताका साथ त्रिवि क्रिकेट मैदानसहित मुलपानी क्रिकेट मैदान र विराटनगरको बैजनाथपुर क्रिकेट मैदानलाई बजेट उपलब्ध गराएर काम गराउने अपेक्षा आफ्नो रहेको बताए । त्यसका लागि प्रदेश र केन्द्र सरकारले समन्वय हुनुपर्नेमा जोड दिए ।

क्यानको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रामचरित्र मेहताले सबैले कानुनको पालना गर्नुपर्ने भन्दै क्यानप्रति केही असन्तुष्टि पोखेका थिए । 

उनले सवैका काम र गतिविधि कानुनसम्मत बनाउनु पर्ने बताएका थिए ।

एनपीएलको हिसाबकिताब लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरी परेपछि छानबिन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई पत्र नै लेखेको थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने केही आन्तरिक परिस्थितिले गर्दा साधारणसभामा ढिलाइ भएको बताउँदै अब त्यो पनि अन्त्य भएको जानकारी दिए । 

उनले उनले नेपाली क्रिकेटलाई माथि उकास्न क्यानले जहिले पनि सकारात्मक भएर काम गर्दै आएको बताए ।

View : 111

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved