विराटनगर । विराटनगरमा ९३ औं संस्करणको राधाकृष्ण रथयात्रा भव्य उपस्थितिका साथ सम्पन्न भएको छ । हरेक वर्ष विराटनगरमा भक्तजनहरुको ठूलो संख्यामा उपस्थिति हुने गरेका कारण युगल राधाकृष्णको रथयात्रा भव्य हुने गरेको छ ।
विगतमा पहेंलो र रातो रंगले रथ सजाउने गरिएकोमा यसपटक यसपटक राधाकृष्णको रथलाई हरियो रंगबाट सजाइएको थियो । हरियो रंगको रथ मनमोहक देखिएको थियो । लाखौं भक्तजनहरुको उपस्थितिमा रथ यात्रा पूरा भएको आयोजक समितिले जनाएको छ ।
रथयात्रा अघिअघि विभिन्न किसिमका सांस्कृतिक झाँकीहरूले विराटनगर नै झकिझकाउ बनेको थियो । रथयात्रा निस्कनुअघि नै विराटनगरको मेन रोड र विराटनगर–धरान रोड झाँकीहरूले ढाकिएको थियो ।
श्रद्धालुहरूले आफ्नो सांस्कृतिक तथा जातीय झाँकी प्रदर्शन गरेका थिए । रथयात्राको सुरक्षामा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । साथै एम्बुलेन्स लगायतका अत्यावश्यक सेवाका साधनहरू पनि सडकमा सतर्कताका साथ राखिएको थियो ।
विराटनगरको पहिचान बनिसकेको ऐतिहासिक राधाकृष्ण रथयाक्राका त्रममा रथलाई विराटनगरको तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट अपरान्ह ३ बजेदेखि निकालिएको थियो । रथ तान्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको थियो ।
राधाकृष्णको युगल जोडीको प्रतिमा राखिएको रथ तान्न हजारौं भक्तजनहरुबीच तँछाडमछाड देखिएको थियो । राधाकृष्ण मन्दिरबाट तान्न सुरु गरिएको रथ ९ किलोमिटर यात्रापछि पुनः राधाकृष्ण मन्दिर पुगेर समापन भएको छ ।
विराटनगरमा विसं १९८८ मा खटयात्राबाट सुरु भएर २०२४ सालदेखि राधाकृष्ण रथयात्रा निकाल्न थालिएको हो । यस पटकको रथयात्रा समग्रमा ९३ औं (खटयात्रा सहित) र रथयात्राको ५६ औं संस्करण हो ।
रथयात्रामा नेपालसहित भारतबाट समेत भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ । रथ तान्न सहभागी हुने भक्तजनहरुलाई विराटनगरका उद्योगी व्यवसायी घराना र सर्वसाधारणले समेत सडक छेउमा पानी, दही, मोही, आइक्रिस, बिस्कुट, सर्वत र फलफुल लगायतको व्यवस्था गरेका थिए ।
राधाकृष्ण रथयात्राको ऐतिहासिकता बढ्दै गएका कारण कोशी प्रदेश सरकारले यो रथयात्राको दिन कोशी प्रदेशभरी नै सार्वजनिक बिदा दिने गरेको छ ।
रथयात्रामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुली, जीवन आचार्य लगायतको सहभागीता रहेको थियो ।
रथयात्रालाई भव्यता प्रदान गर्न नेपाली सेनाको हेलिकप्टरबाट पुष्पबृष्टि समेत गरिएको थियो ।
हरेक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्ने प्रचलन बढ्दै गएको छ । मोरङकै विभिन्न ठाउँसहित सुनसरीको इनरुवा, इटहरी, धरान, दुहवी, झापाको दमक, गौरादह लगायतका स्थानमा पनि राधाकृष्ण रथयात्रा निकालिंदै आएको छ ।
मंगलबार विहान उत्तरी विराटनगरको क्षेत्रलाई समेटर राधाकृष्ण रथयात्रा निकालिएको थियो । विराटनगर–३ स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्ण रथयात्रा निकालिएको हो ।
उक्त रथलाई मन्दिरबाट मदननगर, पुष्पलाल चोक, फुटबल चोक हुँदै कोशी राजमार्गमा निकालेर विराटनगर प्रवेशद्वार ढाटबाट पुनः राधाकृष्ण मन्दिर पुर्याएर समापन गरिएको रथयात्रा समारोह समितिका सल्लाहकार सन्तोष आचार्यले जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिले विगत वर्षदेखि नियमित रुपमा उत्तरी विराटनगरलाई समेटेर रथयात्रा निकाल्दै आएको उनले बताए । हजारौं भक्तजनहरूको सहभागितामा सो रथयात्रा निकालिएको थियो । विहान रथयात्रा समापन गरेका भक्तालुहरु दिउँसो भने विराटनगरको भव्य युगल राधाकृष्ण रथयात्रामा सहभागी भएका थिए ।
View : 163
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved