Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङ हिस्टुनद्वारा विराटनगरमा विरोधसभा

उद्‌घोष संवाददाता
२२ भदौ २०८२, आइतवार

विराटनगर ।  बन्दै गरेको शिक्षा ऐनका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै उच्च माध्यमिक शिक्षक संघ मोरङ (हिस्टुन) ले शनिबार विराटनगरमा विरोधसभा आयोजना गरेको छ ।

हिस्टुनका केन्द्रीय सदस्य राजु तिमल्सिनाले आउने शिक्षा ऐनबाट शिक्षकको पद घटुवा गर्ने प्रावधान ल्याउन लागेकोमा आपत्ति जनाए । उनले लामो समयदेखि माध्यमिक द्वितीय श्रेणीमा अध्यापनरत शिक्षकलाई तृतीय श्रेणीमा घटुवा गर्ने प्रस्ताव अन्यायपूर्ण भएको टिप्पणी गर्दै  उनले यस्तो व्यवस्थाले शिक्षकको मनोबलमा आघात पु¥याउने बताएका छन् ।

त्यसैगरी कोशी प्रदेश सचिव शरदचन्द्र दाहालले साविक उच्च माध्यमिक तथा अस्थायी प्रकृतिका शिक्षकलाई सामाजिक सुरक्षासहित सेवाको पूर्ण ग्यारेन्टी दिनुपर्ने माग राखे । उनले चेतावनी दिंदै भने, ‘यदि सरकार र महासंघले गम्भीर चासो देखाएन भने, शिक्षा ऐन जलाएर आन्दोलनको आँधीबेहरी ल्याइनेछ ।’

मोरङ जिल्ला उपाध्यक्ष मणिराज लिम्बूले सरकार र शिक्षक महासंघले अघिल्ला सहमति तोड्न खोजेको भन्दै यस्तो कदम दोहोरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । जिल्ला कोषाध्यक्ष होमनाथ न्यौपाने र निवर्तमान अध्यक्ष कैलाश दाहालले तत्कालीन साविक उच्च माध्यमिक शिक्षकलाई माध्यमिक द्वितीय श्रेणीको व्यवस्था दिनुपर्नेमा जोड दिए ।

विरोधसभाको अध्यक्षता जिल्ला अध्यक्ष तुलसी खतिवडाले गरेका थिए । उनले शिक्षक महासंघप्रति असन्तुष्टि जनाउँदै भने, ‘महासंघले धोका दिएको छ । हामीलाई बेवास्ता गर्ने क्रम जारी रह्यो भने सहकार्य हुने छैन ।’
 

View : 347

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved