Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस विशेष महाधिवेशन विवाद

विशेषकै पक्षमा खुले कोशीका ५ जिल्ला सभापति

‘विशेष महाधिवेशन कांग्रेस रूपान्तरणको एउटा महत्वपूर्ण क्षण हो, त्यसमा सहभागिताका लागि हामीले आह्वान गरेका हौं,’ धनकुटाका सभापति दिनेश राईले भने ‘अहिलेसम्म पाँच जिल्ला सभापतिले सहभागिता जनाउने निश्चित भइसकेको छ ।’
उद्‌घोष संवाददाता
२५ पुष २०८२, शुक्रवार

विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ मा काठमाडौंमा हुने तयारी भइरहँदा कोशी प्रदेशका ५ जिल्ला सभापतिहरू पनि त्यसमा सहभागी बन्ने भएका छन् । 

उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर जिल्लाका सभापतिहरूले विज्ञप्ति निकालेरै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । सुनसरी जिल्ला सभापति पनि विशेष महाधिवेशनमा सहभागी बन्दैछन् । 

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा  तथा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वान गरेपछि जिल्ला कार्यसमितिहरूले स्वागत गर्दै सहभागिताका लागि अपिल जारी गर्न थालेका छन् । 

देशका विभिन्न जिल्लाका सभापतिहरूले यस्तो आह्वान गरिरहँदा कोशीका पनि विभिन्न जिल्लाका सभापतिहरूले सहभागिताका लागि आग्रह गरेका हुन् । 

‘विशेष महाधिवेशन कांग्रेस रूपान्तरणको एउटा महत्वपूर्ण क्षण हो, त्यसमा सहभागिताका लागि हामीले आह्वान गरेका हौं,’ धनकुटाका सभापति दिनेश राईले भने ‘अहिलेसम्म पाँच जिल्ला सभापतिले सहभागिता जनाउने निश्चित भइसकेको छ ।’ 

राईले दिएको जानकारी अनुसार उनीसहित उदयपुर सभापति हिमाल कार्की, सुनसरीका केदार भण्डारी, तेह्रथुमका अर्जुन तुम्बाहाम्फे र भोजपुर सभापति विनोद वान्तावा महाधिवेशनमा सहभागी बन्ने निश्चित भइसकेको छ । कोशीबाट संख्या बढ्न सक्ने उनले बताए ।

कोशी प्रदेश महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छदार लगायतका कांग्रेस शीर्ष नेताहरूको गृह प्रदेश हो । 

महामन्त्री शर्मा विशेष महाधिवेशनको पक्षमा छन् । बाँकी नेताहरू विपक्षमा छन् । संस्थापनका नेताहरू विपक्षमा उभिएका बेला संस्थापनइतर नेता शेखर कोइराला पनि देउवालाई नै साथ दिने निचोडमा पुगेका छन् । 

बिहीबार भने नेता शेखर कोइरालाले  विशेष महाधिवेशनलाई संकल्प महाधिवेशनमा रूपान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका छन् । 

सभापति देउवालाई भेटेर शेखरले पार्टी विभाजन रोक्न आग्रह गरेर त्यसको पहल लिन अनुरोध गरेको उनको सचिवालयले जानकारी दिएको छ । 

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । 

विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे ३ महिनाभित्र आह्वान गर्नुपर्छ । 

सभापति र केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान नगरेपछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन बाध्यकारी भन्दै आह्वान गरेका थिए । 

संस्थापन पक्षमा रहेका कोशीका शीर्ष नेताहरूको अवरोधका वावजुद प्रदेशका ६५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेको धनकुटा सभापति राईको दाबी छ । 

‘कोशीका १४ जिल्लामा कूल ७२८ जना महाधिवेशन प्रतिनिधि हो’, उनले भने ‘त्यसको ६५ प्रतिशतले हस्ताक्षर गर्नुभएको छ ।’ 

कोशीका सभापति उद्धव थापाले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै यसअघि विज्ञप्ति जारी गरेका छन् । उनकै समितिमा सहमहामन्त्री रहेका मोरङका नेता खड्ग फागोसहितका नेताहरू पनि विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएका छन् । 

कोशीका विभिन्न जिल्लाका क्षेत्रीय समितिहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुन भनेर आह्वान गरिसकेका छन् ।

View : 149

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved