Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

दुई तिहाईको सरकार जोगाउन नसकेका ओलीलाई संसदबाटै दुई तिहाई

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, पक्षमा २ सय ६३

उद्घोष सम्वाददाता
६ साउन २०८१, आइतवार

विराटनगर । नेकपा कालमा आफैं नेतृत्वको दुई तिहाई बहुमतको सरकार जोगाउन नसकी सत्ताबाट बाहिरिन बाध्य भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तेही प्रतिनिधिसभाबाट दुई तिहाई बहुमत पाएर प्रधानमन्त्रीमा अनुमोदित भएका छन् ।

आइतबार ओलीले विश्वासको मत लिने कार्यसूची अनुसार बसेको प्रतिनिधिसभाको बैठकमा ओलीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा दुई तिहाई मत परेको हो ।

प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम राख्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । 

बैठकमा भएको मत विभाजनको परिणाम घोषणा गर्दै सभामुख घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको बताए ।

मतदानमा कुल दुई सय ६३ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका राजनीतिक दलबाट १ सय ८८ मत परेको थियो । 

विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीलगायतका दलको ७४ मत परेको जनाइएको छ । प्रधानमन्त्रीले प्राप्त गरेको उक्त मत संसदमा रहेका कूल सदस्यको दुई तिहाइ रहेको जनाइएको छ ।

मतदानमा एक सदस्य तटस्थ रहेका थिए । गत असार २८ गते एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक साउन ७ गते सोमबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।

View : 191

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved