Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

अन्ततः शेखरले तोडे मौनता

‘नियमित नभए विशेष महाधिवेशन बाध्यकारी’

उद्‌घोष संवाददाता
२६ कार्तिक २०८२, बुधवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अन्ततः मौनता तोड्दै पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन् । 

आफूलाई भावी सभापतिका रूपमा अघि सारिरहेका कोइरालामाथि संस्थापन पक्षको आलटाललाई साथ दिएको आरोप लागिरहेको थियो । 

नियमित महाधिवेशनका पक्षमा आफूलाई उभ्याएका तर संस्थापनले महाधिवेशन टार्ने बहाना खोजिरहँदा पनि उनी मौन बसेका थिए । कोइरालाको मौनताले उनकै टिमभित्र पनि असन्तोष पैदा गरेको थियो । 

संस्थापनले नियमित महाधिवेशन टार्न खोजे विशेष महाधिवेशन विधानतः बाध्यकारी हुन्छ भन्ने कुरा शेखरले नबोल्दा त्यसले महाधिवेशन नचाहेको संस्थापन पक्षलाई ढाडस मिलिरहेको चर्चा कांग्रेसभित्र थियो । 

यही चर्चाबीच मंगलबार नेता कोइरालाले मौनता तोड्दै नियमित नभए विशेष महाधिवेशन अपरिहार्य हुने बताएका हुन् । 

कोइरालाको यो अभिव्यक्तिले अब कांग्रेसको संस्थापन इतर पक्षको आवाज एकै भएको छ । 

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा दुवै जना पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने, त्यो नभए विशेष महाधिवेशन अनिवार्य हुने अडानमा छन् । अब कोइराला पनि त्यही लाइनमा उभिएपछि कांग्रेसभित्र संस्थापनइतर पक्ष एकजुट हुने अवस्था देखिएको छ । 

केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएकाले विधानअनुसार विशेष महाधिवेशन बाध्यकारी हुने बताएका हन् । 

‘शेखर कोइरालाको रहस्यमय मौनता तोडिनु सकारात्मक छ’, कोइराला निकट एक नेताले भने ‘उहाँले मौनता तोड्दा संस्थापन इतर पक्ष अब एकै ठाउँ उभिने अवस्था भयो ।’ 

ती नेताका अनुसार कोइराला निकट मानिने मोरङ, झापाकै कतिपय महाधिवेशन प्रतिनिधिले यसअघि विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका थिएनन् । यसले कोइराला टिमप्रति महामन्त्रीहरूको समूह संशकित थियो । ती नेताका अनुसार अब भने शंका निवारण भएको छ । 

‘अब मंसिरमा महाधिवेशन हुन सक्दैन । पुस मसान्तसम्म १५औं महाधिवेशन गरौं ं। नयाँ नेतृत्वले चुनाव हाँक्नुपर्छ, ताकि मतदातामा पनि उत्साह आओस्’, उनले भने । 

कोइरालाले आफू मौन नरहेको पनि दाबी गरे । ‘मैले मौनता साँधेको छैन’, उनले भने ‘कांग्रेस जन्मदेखि मध्यमार्गी पार्टी हो, मध्यमार्गीले नै देश हाँकेको छ, त्यसैले जित्छ ।’ 

आफूले चार वर्षदेखि २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्छ भनेको उल्लेख गर्दै उनले भने ‘किन सकिएन ? यो कार्यसमितिको म्याद थप्न हुन्न भनेकै हो मैले ।’ उनले विशेष महाधिवेशनका लागि पार्टीमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएको उल्लेख गर्दै ४० प्रतिशतले हस्ताक्षर बुझाए मात्र पनि विशेष महाधिवेशन बाध्यकारी हुने बताए । 

‘४० प्रतिशतले हस्ताक्षर बुझाए पनि विशेष महाधिवेशन बाध्यकारी छ, तर ५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाउनुभएको छ, नियमित महाधिवेशन गरियो भने उहाँहरूलाई सम्झाउँला, नत्र विशेष महाधिवेशन विधानअनुसार बाध्यकारी छ’ कोइरालाले भने ।

उनले  विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर रूजु गर्ने क्रममा थप विवाद हुन सक्ने सम्भावना पनि औंल्याएका छन् ।

हस्ताक्षर बढेर ६० प्रतिशत पुग्ने वा घट्न सक्नेतर्फ संकेत गर्दै उनले जे भए पनि पार्टीमा विभाजन मनस्थिति देखा पर्न सक्ने बताएका हुन् । ‘हस्ताक्षर रूजु गर्ने क्रममा वादविवाद हुन्छ र त्यसले कांग्रेसलाई अप्ठ्यारोमा लैजान सक्छ’, उनले भने, ‘विशेष महाधिवेशन गर्ने हो भने केन्द्रीय समितिले नै निर्णय गरौं । सर्वसम्मत निर्णय हुन्छ ।’ 

विधानमा केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिले आवश्यक ठाने विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था छ । उनले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा पेस गरेको पुस १६ देखि १९ गतेसम्मको कार्यतालिकामा १५औं महाधिवेशन गर्न सकिने पनि बताए ।

View : 399

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved