अस्पतालमा उपचाररत मण्डल । तस्वीरः उद्घोष
विराटनगर । दुई मोटरसाइकलमा सवार छ जना घाइते भएपछि दुर्घटना कस्ले गराएको भन्ने यकिन नहुँदा उपचारमा समस्या भएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ । एक पक्षले दुर्घटना गराउने मोटरसाइकल धनीले उपचार गराउनुपर्ने र अर्को पक्षले बढी क्षति भएकालाई कम क्षति भएकाले उपचार गराउनुपर्ने अडान राखेपछि उपचारमा समस्या भएको हो ।
मोरङ कटहरी ४ नयाँ बजारमा गत शुक्रबार राति को २५ प ३३१५ नम्बरको मोटरसाइकललाई को ३९ प ७०५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुबै मोटरसाइकलमा गरी छ जना सवार थिए । को २५ प ३३१५ नम्बरको मोटरसाइकलमा मोरङ धनपालथान ६ का ३८ वर्षीय देवशरण मण्डल, उनकी चार वर्षीया छोरी र भाइ सवार थिए ।
मोटरसाइकल चालक मण्डल गम्भीर र उनकी छोरी र भाइ सामान्य घाइते भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सडक क्रस गर्ने क्रममा तीन जना सवार को ३९ प ७०५७ नम्बरको मोटरसाइकल अर्कोमा ठोक्किएको थियो ।
दोस्रो मोटरसाइकलको पछाडि बसेका जहदा ४ का २८ वर्षीय रामजी सिंहको अवस्था गम्भीर र अन्य दुई सामान्य घाइते भएका थिए ।
सिंहको विराट नर्सिङ होम र मण्डलको जीवन विकास सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
उनीहरुको अस्पतालको उपचार लामो चल्ने बताइएको छ ।
मण्डल पक्षले दुर्घटना गराउनेले उपचार र कारवाही भोग्नुपर्ने माग गर्दै प्रहरीमा निवेदन दिएको छ ।
सिंह पक्षले भने आफ्नो घाइते बढी गम्भीर भएकाले मण्डल पक्षले उपचार गराउनुपर्ने माग राख्दै आएको छ । दुबै पक्षबीच सहमति नहु“दा कारवाहीको माग गर्दै अदालतसम्म जाने अवस्था आएको मण्डलका आफन्त काशीराम मण्डलले बताए ।
मण्डल पक्षले तीन युवा सवार मोटरसाइकलमा मादकपदार्थ सेवन गरेर र बोकेर सडक पार गर्ने क्रममा दुर्घटना भएको दाबी गरेको छ ।
मादक पदार्थ सेवन गरेर चलाएको मोटरसाइकल तीब्र गतिमा रहेकाले मोटरसाइकल दुर्घटना भएको स्थानीयको आरोप छ ।
प्रहरीले भने घटनास्थल प्रकृति मुचुल्का तयार गरेपछि मात्रै दुर्घटनाको कारण खुल्ने बताएको छ ।
View : 64
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved