विराटनगर । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्यले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छन् ।
बिहीबार निर्वाचन आयोगको कार्यालयमा आचार्यले १२ लाख ४० हजार ७०६ रुपैयाँ रहेको चुनावी खर्च विवरण बुझाएकी हुन् ।
निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ५५ हजार पाँच सय १३ मत प्राप्त गरेर उनी निर्वाचित भएकी थिइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका डा. शेखर कोइराला १२ हजार ८ सय ५० मत प्राप्त गरेका थिए ।
आचार्यको सबैभन्दा बढी खर्च ‘प्रचारप्रसार सामग्री, साउण्ड सिस्टम, सिटी रिक्सा प्रचार’ शीर्षकमा रहेको छ ।
सो शीर्षकको खर्च ३ लाख २५ हजार ७ सय ७६ रहेको छ भने सवारी साधन भाडा, इन्धन तथा चालक खर्च १ लाख ४९ हजार ४ सय रहेको छ । त्यस्तै खाजा, खाना, चिया पानी खर्च २ लाख ४७ हजार ९ सय ३५ रहेको छ ।
त्यसैगरी सचिवालय स्थापना र चिया नास्ता खर्च १२ हजार ५ सय ९५, बुथ प्रतिनिधि प्रशिक्षण र व्यवस्थापन खर्च २ लाख रहेको छ भने विद्युतीय प्रचारप्रसार, फोटोकपी तथा भिडियोग्राफीको खर्च ३ लाख रहेको छ ।
सिटिजन्स इन्टरनेशनल बैंक महेन्द्र चौक, विराटनगर शाखाबाट निर्वाचन प्रयोजनका लागि खाता खोलेकी उनले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र आफ्नो चुनावी खर्च बुझाउनुपर्नेमा समय नलम्ब्याइकन चाँडै चुनावी खर्च बुझाएकी हुन् ।
त्यस्तै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत चुनावी खर्च विवरण पोस्ट्याउँदै लेखेकी छन्, ‘आर्थिक पारदर्शिता सुशासनको पहिलो आधार भन्ने मान्यतालाई शिरोपर गर्दै मोरङ क्षेत्र नं. ६ को मेरो चुनावी अभियानसँग सम्बन्धित सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेकी छु ।’
उनले आफ्नो पार्टीको पहिलो प्राथमिकता मितव्ययी ढंगले अभियान सम्पन्न गर्नुरहेको बताउँदै अभियानको दौरान विभिन्न स्थानमा स्वेच्छिक रुपमा खाना, खाजा पानीको व्यवस्था गरिदिनेहरूलाई धन्यवाद दिएकी छन् ।
View : 111
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved