विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाका प्रहरी नायव निरीक्षक जीवनकुमार कार्की र ट्राफिक प्रहरी कार्यालय इनरुवा सुनसरीका प्रहरी हवल्दार विशाल प्रधानलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको छ ।
पुरस्कृत भएका कार्कीले इन्धन बोक्ने ट्याङकरमा लुकाई ल्याएको ६ सय केजी गाँजा ओसारपसारमा संलग्न ४ जनालाई पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
गएको मंगलबार राति धनुकटाको मुलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को. १ ख ७३२२ नम्बरको ट्याङकरलाई भेडेटारमा रोकेर जाँच गर्दा उक्त ट्याङकरको तेल लगाउने डिब्बा
भित्र लुकाई राखेको अवस्थामा ५ सय ९४ केजी गाँजा फेला परेको थियो ।
गाँजा ओसारपसारमा संलग्न एक जना भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
यसैगरी ट्राफिक प्रहरी हवल्दार प्रधानले सुनसरीको इनरुवाबाट ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएका थिए ।
गत सोमबार सुनसरी इनरुवास्थित सुनसरी खोलाको पुल छेउबाट ट्राफिक प्रहरी प्रधानसहितको टोलीले एक हजार रुपैयाँ दरका १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियो जीप र त्यसका चालकलाई नियन्त्रणमा लिएको थियो ।
आफूलाइ दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरेको हुनाले दुबै जनालाई उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरिएको जनाइएको छ ।
View : 296
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved