Biratnagar, Morang, Nepal
३ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

निर्माणाधिन आयोजनालाई प्राथमिकतामा राख्न एमाले कोशीको आग्रह

उद्‌घोष सम्वाददाता
२ जेठ २०८२, शुक्रवार

विराटनगर । वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा रहेका कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उनकै दल नेकपा एमालेका नेताहरूले भेटेर निर्माणाधिन आयोजनाहरू सम्पन्न गर्न ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । 

एमाले कोशी प्रदेश इञ्चार्जसमेत रहेका संस्थापक मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताहरूले भेटेर प्रदेशको समृद्धि र विकाससँग जोडिएका सवालहरू समेटेर सुझाव दिएका हुन् ।

सुझावपत्रमा चालु तथा निर्माणाधिन आयोजनाहरुको वर्गीकरण गरी सम्पन्न हुने चरणमा रहेका योजनाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरिएको छ ।
विकास निर्माण, रोजगारी, कृषि, स्वास्थ्य, भाषा संरक्षण, सुशासन र स्थानीय उत्पादन प्रवद्र्धनजस्ता महत्वपूर्ण विषय समेटेर सुझाव दिएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको कोरिडरमा पर्ने ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पा“चथरका मुख्य शहर तथा बजार केन्द्रहरूलाई समेट्ने गरी प्रत्येक जिल्लामा कम्तिमा पाँच–पाँचवटा वटा योजना अघि बढाउन सुझाव दिएको उनले बताए ।

खतिवडाले भर्खरै सम्पन्न लगानी सम्मेलनमा छुटेका जिल्ला र क्षेत्रमा आगामी बजेट र कार्यक्रममा समावेश गर्नुपर्ने सुझावमा दिएको बताए ।

त्यसैगरी प्याज, लसुन, बेसार, खोर्सानी र गोलभेडाजस्ता मसलाजन्य खाद्य वस्तुहरुमा प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहको सहकार्यमा गरी ‘उत्पादनमा जोडौं सबै घर, सबै घरलाई बनाऔं आत्मनिर्भर’ अभियान चलाउन सरकारलाई आग्रह गरिएको पूर्वमुख्यमन्त्री राईले बताए ।

संविधानको व्यवस्था र भावनालाई आत्मसात गर्दै प्रदेशका बहुसंख्यक नागरिकले बोल्ने भाषालाई कामकाजको भाषा बनाउन र देवनागरीसँगै स्थानीय भाषामा पनि सरकारी कार्यालय, विद्यालय तथा संस्थाका नाम राख्न सकिने व्यवस्था गर्न सुझाव दिइएको उनले जानकारी दिए ।

जिल्ला अस्पतालहरूलाई विशेषज्ञ सेवा केन्द्रको रूपमा विकास गर्ने र पालिकास्तरमा दक्ष जनशक्ति परिचालन गर्न र युवाहरुलाई रोजगारीमुखी बनाउनका लागि प्रत्येक पालिकामा १५ जनालाई समेट्ने गरी ‘स्टार्टअप’ (नवप्रवद्र्धन) कार्यक्रम ल्याउनु सुझाव दिइएको जनाइएको छ । 

आफ्नै पार्टीका नेताहरूले दिएको उक्त सुझावलाई प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेटेर अगाडि बढ्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्धता जनाएका थिए ।

View : 79

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved