विराटनगर । विराटनगरको प्रतिष्ठित स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा आयोजना गरेको साताव्यापी विशेष कार्यक्रम समापन गरेको छ ।
नर्सहरूको परिश्रम, बिरामीप्रतिको समर्पण र सेवाभावको उच्च कदर गर्दै अस्पतालले एक हप्तासम्म विभिन्न विधाका कार्यक्रमहरू सञ्चालन गरेको थियो ।
अस्पतालले नर्सहरूको बौद्धिक र व्यावसायिक क्षमता अभिवृद्धिका लागि साताभरि विभिन्न प्रतियोगिताहरू आयोजना गरेको थियो ।
सो क्रममा आयोजित हाजिरीजवाफ र हिज्जे प्रतियोगितामा विभिन्न विभागका नर्सहरूले अत्यन्त उत्साहका साथ सहभागिता जनाएका थिए । समापन समारोहमा ती प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा अहोरात्र खटिएर उत्कृष्ट र उदाहरणीय सेवा प्रदान गर्ने नर्सहरूलाई उनीहरूको योगदानको कदरस्वरूप विशेष सम्मान र पुरस्कार प्रदान गरिएको थियो । समारोहमा नर्सिङ कर्मचारीहरूले आफ्नो दैनिक व्यस्त कार्यतालिकाबाट समय निकालेर विभिन्न नृत्य, गायन र कलात्मक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।
अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक एवं वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्टको सभापतित्वमा भएको सो कार्यक्रममा नर्सिङ पेसाको महत्वमाथि प्रकाश पारिएको थियो ।
डा. विष्टले भने, नर्सहरू अस्पतालका मेरुदण्ड हुन् । चिकित्सकले बाटो देखाउँछन् भने नर्सहरूले आफ्नो सेवा र ममताले बिरामीलाई त्यो बाटोमा हिंडाएर निको पार्छन् ।
समारोहमा कार्यकारी निर्देशक डा. अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, एकेडेमिक डाइरेक्टर एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. नवीनकुमार कर्ण र मेडिकल निर्देशक एवं वरिष्ठ फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. विवेक कट्टेल लगायतको उपस्थिति थियो । वक्ताहरूले नर्सहरूलाई आधुनिक चिकित्सा प्रविधिसँगै मानवीय संवेदनालाई पनि उत्तिकै महत्व दिन आग्रह गरेका थिए ।
View : 99
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved