Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

अन्तर्राष्ट्रिय टि ट्वान्टी शृङ्खला:

अन्तिम ओभरको अधैर्यताले नेदरल्यान्ड्ससँग दुई रनले पराजित भयो नेपाल

उद्घोष सम्वाददाता
१६ फागुन २०८०, बुधवार

विराटनगर । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तरगत घरेलु मैदानमा भएका पछिल्ला दुई खेलमा लगातार हार व्यहोरिरहेको नेपालले बुधबारको खेलको अन्तिम ओभरमा देखिएको अधैर्यताले नेदरल्याण्डसँग दुई रनले पराजित हुनु परेको छ । 

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रनमा समेटिएको हो ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । राष्ट्रिय टोलीका लागि उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले नेपाललाई जित नजिक पुर्याएपनि उनी अन्तिम ओभरको तेस्रो बलमा बोल्ड हुन पुगे ।

अन्तिम ओभरको चौथो बलमा दोस्रो रन लिने क्रममा करण केसी पनि रन आउट भए । 

नेपाललाई जितका लागि ३ बलमा ४ रन चाहिएको थियो तर ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड हुन पुगे । दिपेन्द्रले ३४ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ६३ रन बनाएका थिए । 

त्यसपछि उनको स्थानमा आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौँ बलमा उनले मात्र १ रनका लागि मैदानमा डटे । फलस्वरुप जित नेपाल हातमा फुत्किएर नेदरल्यान्डको पक्षमा पुग्यो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक हाने । उनले ३५ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५० रन जोडेका थिए ।

आशिफ शेखले २३ बलमा चार चौका र एक छक्काको मद्धतमा ३४ रन जोडे ।  कुशल मल्ल र करण केसीले समान ११-११ रन जोडे  भने सन्दिप जोराले ८ रन बनाए ।

बलिङतर्फ नेदरल्याण्डका स्याब्रान्ड एंगेलब्रेक्ट र रोलेफ भान डर मर्वेले समान दुई-दुई विकेट लिए । त्यस्तै आर्यन दत्त, भिभियन किंग्मा र टिम भान डर गुगटेनले एक-एक विकेट चड्काए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो । 

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ३६ बल खेल्दै पाँच चौका र तीन छक्काको मद्दतमा ५४ रन बनाए । स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काबाट ४९ रन जोडे ।

स्कट एडवार्डसले पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाएका थिए ।

बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक-एक विकेट लिएका थिए । 

नेपालले अर्को खेल अब फागुन १८ गते नामिबियासँग खेल्ने छ । नेपाल मंगलबार नामिबियासँगै मात्र २० रनले पराजित भएको थियो ।

View : 199

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved