काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो ।
१५.५ ओभरमा पाँच विकेट गुमाएर १३२ रनको बलियो अवस्थामा रहेको विराटनगर त्यसपछि धराशायी बनेको थियो ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए भने आन्द्रे रसलले ३३ रनको योगदान गरे। तर, उनीहरूको प्रयासले टोलीलाई जित दिलाउन सकेन ।
चितवनका कमलसिंह ऐरीले चार विकेट लिए भने रिजन ढकालले दुई विकेट झारे। उनीहरूको उत्कृष्ट बलिङसँगै चितवनले रोमाञ्चक जित निकालेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
चितवनका ओपनर ब्याटर डेविड मलानले अर्धशतक प्रहार गर्दै सर्वाधिक ७० रन बनाए । जारी संस्करणमा अर्धशतक प्रहार गर्ने मलान पहिलो खेलाडीसमेत बनेका छन् ।
त्यस्तै, रवि बोपरा ३२ रन र ड्यान माउस्ली २९ रनमा अविजित रहे। विराटनगरका चरिथ असलंका, आन्द्रे रसल र एन्जेलो म्याथ्युजले समान एक–एक विकेट लिए ।
यस जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।
एनपीएलअन्तर्गत मंगलबार साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
View : 23
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved