Biratnagar, Morang, Nepal
१० कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपीएलमा आज खेल्दै विराटनगर, यस्तो छ विराटनगर किङ्ग्सको टोली

उद्‌घोष संवाददाता
१० कार्तिक २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपाल प्रिमियर लिग –एनपीएल)को तेस्रो संस्करणमा विराटनगर  किङ्ग्सले मंगलबार चितवन राइनोजसँग खेलेर आफ्नो यात्रा सुरु गर्दैछ ।

चितवन राइनोजसँग पहिलो खेल खेल्ने विराटनगरले त्यसपछि कात्तिक १२ गते बिहीबार कर्णाली याक्ससँग, कात्तिक १४ गते शनिबार सुदूरपश्चिम रोयल्ससँग र कात्तिक १७ गते मंगलबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले कात्तिक १९ गते बिहीबार काठमाडौं गोर्खाजसँग खेल्नेछ ।

त्यसपछि कात्तिक २६ गते बिहीबार पोखरा एभेन्जर्स र कात्तिक २८ गते शनिबार लुम्बिनी लायन्ससँग लिग चरणका खेल खेल्ने तालिका छ । यी सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको टिममा  वेस्ट इन्डिजका आन्द्रे रसेल, श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी टोलीमा छन् ।

 विराटनगरले अघिल्लो संस्करणमा तेस्रो स्थान हासिल गरेको थियो ।  यसपालि उपाधि जित्ने लक्ष्यसहित टोली मैदानमा उत्रिदैछ । त्रिवि मैदानमा यो सिजनको पहिलो खेल खेल्ने तयारीमा रहेको विराटनगरका खेलाडीहरुबारे संक्षिप्त परिचय–

सन्दीप लामिछाने — कप्तान

नेपाली क्रिकेटका प्रमुख स्पिनरमध्ये एक सन्दीप विराटनगरका कप्तान हुन् । उनको मुख्य शक्ति गुगली, लेग स्पिन र मध्य ओभरमा विकेट निकाल्ने क्षमता हो ।  अघिल्लो एनपीएलमा १७ विकेट लिएका उनी यसपालि पनि टोलीको बलिङका मुख्य आधार हुन् । नेपाली क्रिकेटका सर्वाधिक चर्चित र अन्तर्राष्ट्रिय फ्रेञ्चाइजको सबैभन्दा धेरै अनुभव भएका खेलाडी हुन् ।

आन्द्रे रसेल

वेस्ट इन्डिजका चर्चित  अलराउन्डर रसेल विश्व क्रिकेटका चर्चित टी–२० खेलाडी पनि हुन् । रसेल आक्रामक ब्याटिङ र तीव्र गतिका बलिङका लागि परिचित छन् ।  ठूला छक्का प्रहार गर्न सक्ने र आवश्यक परेका  बेला विकेट लिन सक्ने उनको क्षमताले विराटनगरको ब्याटिङ र बलिङ दुवै बलियो बनाउन सक्छ । उनले वेस्ट इन्डिजबाट दुई पटक टी–२० विश्वकप जितेका छन् ।

एन्जेलो म्याथ्युज

श्रीलंकाका पूर्वकप्तान म्याथ्युज लामो अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी हुन् ।  उनी मध्यक्रममा ब्याटिङ गर्न र मध्यम गतिमा बलिङ गर्न सक्छन् ।  दबाबमा खेल सम्हाल्ने अनुभव उनको विशेषता हो । श्रीलंकाले सन् २०१४ मा टी–२० विश्वकप जित्दा उनी टोलीका प्रमुख सदस्य थिए ।

चरिथ असलंका

श्रीलंकाली क्रिकेट टोलीका कप्तानसमेत रहिसकेका असलंका बायाँहाते ब्याटर हुन् । मध्यक्रममा रन बनाउने र इनिङ्सलाई गति दिने उनको क्षमता विराटनगरका लागि उपयोगी हुन सक्छ । अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवले उनलाई टोलीका महत्वपूर्ण ब्याटरमध्ये एक बनाउन सक्छ ।

शुभम रञ्जने

अमेरिकी क्रिकेट टोलीसँग आबद्ध रञ्जने ब्याटिङ र बलिङ दुवै गर्न सक्ने खेलाडी हुन् ।  उनी विराटनगरका लागि विदेशी खेलाडीका रूपमा पुनः आबद्ध भएका छन् ।  उनको अलराउन्ड क्षमताले टोलीको खेल संयोजनमा विकल्प थप्न सक्नेछ ।

लोकेश बम

नेपाली राष्ट्रिय टोलीका खेलाडी बम आक्रामक ब्याटिङ गर्न सक्ने विकेटकिपर हुन् ।  उनले सुरुआती क्रम वा मध्यक्रममा खेल्न सक्छन् । छिटो रन बनाउने उनको क्षमताले विराटनगरको ब्याटिङमा गति थप्न सक्छ ।

बसिर अहमद

पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दो अलराउन्डरका रुपमा परिचित बसिर अहमद ब्याटिङ र बलिङ दुवैमा उच्च  योगदान दिन सक्ने नेपाली खेलाडी हुन् । विराटनगरले निरन्तरता दिएका खेलाडीमध्ये एक बसिर एनपीएलका अनुभवी खेलाडी पनि हुन् ।

प्रतिश जीसी

नेपाली राष्ट्रिय टोलीसँग अनुभव बटुलिसकेका तीव्र गतिका बलर प्रतिश अघिल्लो सिजनमा पनि विराटनगरमै थिए । विराटनगरको बलिङ आक्रमणमा उनको भूमिका महत्वपूर्ण हुन सक्छ । पुछारमा आएर केही ठूला सट खेल्न सक्ने क्षमता देखाइसकेका उनले ब्याटिङमा पनि योगदान गर्न सक्छन् ।

नारायण जोशी

अलराउण्डर जोशी टोलीमा ब्याटिङ र बलिङ दुवैका विकल्पका रूपमा रहेका खेलाडी हुन्  ।

सुभाष भण्डारी

विराटनगरले अघिल्लो सिजनबाट निरन्तरता दिएका नेपाली बलरमध्ये एक हुन् भण्डारी ।

रुपेशकुमार सिंह

घरेलु क्रिकेटबाट आएका खेलाडीसिंह अलराउण्डर हुन् । बलिङसँगै ब्याटिङमा पनि योगदान दिन सक्ने विकल्पका रूपमा उनी टोलीमा छन् ।

नरेन साउद

नेपाली घरेलु क्रिकेटमा सक्रिय बलर साउद विराटनगरको बलिङ समूहमा थपिएका खेलाडी हुन् ।

सुजन थपलिया

घरेलु क्रिकेटमा आफ्नो क्षमता देखाउने अवसर पाएका ब्याटर हुन् थपलिया । टोलीको रन बनाउने जिम्मेवारीमा उनको भूमिका रहन सक्छ । उनीहरुका साथै दिलसाद अली,  इमरान शेख, प्रतीक श्रेष्ठ, अपराजित पौडेल लगायतका खेलाडी पनि विराटनगरको टोलीमा छन् । 

समग्रमा, विराटनगरको मुख्य आकर्षण रसेलको विस्फोटक ब्याटिङ, म्याथ्युजको अनुभव, असलंकाको मध्यक्रमको ब्याटिङ र सन्दीपको स्पिन बलिङ हुनेछ । त्यसो त  विदेशी स्टारको नामले मात्र टोलीको सफलता सुनिश्चित हुँदैन । 

नेपाली खेलाडीको प्रदर्शन, ब्याटिङ क्रमको सन्तुलन र डेथ ओभरको बलिङले टोलीको सफलता निर्धारण गर्नेछ ।

View : 58

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved