Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

अनियमित विद्युत आपूर्तिविरुद्ध उभिए अध्यक्ष राठी

आन्तरिक माग पुरा गरेर मात्र निर्यात गर्न सुझाव
उद्घोष सम्वाददाता
२० जेठ २०८१, आइतवार

विराटनगर । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी अनियमित विद्युत आपूर्तिविरुद्ध उभिएका छन् । अध्यक्षमा निर्वाचित भएलगत्तै उनले औद्योगिक करिडोरमा देखिएको अनियमित विद्युत आपूर्ति र विद्युत कटौतिविरुद्ध उद्योगी व्यवसायीहरुको तर्फबाट अपिल जारी गरेका हुन् ।

अध्यक्ष राठीले नेपालका सबैजसो औद्योगिक कोरिडोरका उद्योगहरुले विगत केही महिनादेखि अघोषित तथा अनियमित विद्युत कटौति खेप्नु परिरहेको जनाएका छन् । 

विद्युतको अनियमित आपूर्तिका वावजुद पनि नेपाल विद्युत प्राधिकरणले भने भारतलाई विद्युत निर्यात गर्न थालेको भन्ने विषय सार्वजनिक भएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  ।

संघका अध्यक्ष राठीले प्राधिकरणले स्वदेशी उद्योगहरुको आवश्यकता अनुसार विद्युत आपूर्ति गर्न नसकिरहेको अवस्थामा भारतमा विद्युत निर्यात भइरहेको समाचारहरुप्रति ध्यानाकर्षण भएको  जनाएका छन् ।  

‘उद्योग सञ्चालन अवरुद्ध हुने गरी अघोषित तवरले दिनहु १२ घण्टासम्मको लोडसेडिङ भइरहेको छ, तर गत सोमबारदेखि प्राधिकरणले ४०० मेघावाट विद्युत भारत निर्यात गरिरहेको भन्ने समाचार आश्चर्यजनक छ’ उनले भने, ‘विद्युतको अभावमा स्वदेशी उद्योगहरु पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्, जसका कारण स्वदेशी उद्योगको उत्पादकत्वमा ह्रास आएको छ, उत्पादित वस्तुहरुको अभावमा महंगी बढेको छ ।’ 

यस्तो अवस्थामा सरकारले भने स्वदेशी उद्योगहरुको हकहित, संरक्षण एवं सम्वर्द्धनका निमित्त विभिन्न नीतिहरु र संयन्त्रहरु अपनाउन प्रयास गरेको देखिएकोले विरोधाभाष उत्पन्न भएको अध्यक्ष राठीले बताए । प्राधिकरणले आन्तरिक खपत पश्चात बचत भएको विद्युत भारत निर्यात गर्न थालेको भन्ने भनाइ सार्वजनिक भएको भन्दै संघले त्यसमा असहमति जनाएको बताए ।

स्वदेशी उद्योगहरुले विद्युत नपाएको अवस्थामा लोडसेडिङ भोगिरहनु परेको बताए । प्राधिकरणले भ्रमपूर्ण जानकारी दिएको समेत उनले आरोप लगाए । जसका कारण स्वदेशी उद्योगहरुमाथि ठूलो अन्याय भएको अध्यक्ष राठीले बताए ।

उनले उत्पादकत्वको विकास, आत्मनिर्भरता अभिवृद्धि तथा स्वदेशी उद्योगहरुको संरक्षणार्थ नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणलगायत सम्बन्धित सवै निकायहरुले गम्भिरताका साथ पहल गर्नुपर्ने सुझाव दिए । विद्युतको स्वदेशी खपत तथा आवश्यकता परिपूर्तिमा विशेष ध्यान दिएर मात्र त्यसपछि बााकी रहेको विद्युत भारत निर्यात गर्नुपर्ने धारणा संघको रहेको बताए ।

View : 147

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved