Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरबाट काठमाडौं जाने गाडी नहुँदा यात्री आउन पाएनन्

विराटनगर—काठमाडौ ओहोर–दोहोर गर्ने दैनिक ४९ वटा बस र माइक्रोबस चल्दै आएकोमा हाल ८ वटा बसले मात्रै यात्री बोक्दै आएका छन् ।
उद्घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-४ मासटारमा बिहीबार बिहान सवारीसाधनको जाम । तस्बिर : शंकर श्रेष्ठ / रासस

विराटनगर । अबिरल वर्षपछि आएको बिपद्ले संघीय राजधानी काठमाडौंबाट दशैँ मान्न कोशी प्रदेशमा आउने र जाने यात्रीलाई सहज छैन ।

सडक मार्गको यात्रामा सहज नभएकाले चर्को मूल्य तिरेर यात्री हवाई यात्रा गर्न बाध्य छन् । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको बाटो पूर्ण रुपमा बन्द र मुग्लिङको बाटो आंशिक मात्रै खुलेकाले यात्रीले हवाई यात्राको मात्रै भर पर्नुपरेको छ ।

हवाइजहाजमा पनि अग्रिम टिकक बुकिङ हुने भएकाले यात्रीले चाहेका बेला यात्रा गर्न पाएका छैनन् । सामान्य नागरिकलाई सस्तो यात्राका लागि सडक मार्ग एक मात्रै बिकल्प रहदै आएको छ ।

विराटनगर—काठमाडौ ओहोर–दोहोर गर्ने दैनिक ४९ वटा बस र माइक्रोबस चल्दै आएकोमा हाल ८ वटा बसले मात्रै यात्री बोक्दै आएका छन् ।

विपी राजमार्ग अवरुद्ध भएकाले माइक्रो बस बन्द छन् भने मुग्लिङको बाटो छिचोल्न समस्या भएकाले दैनिक ४ वटा बस जाने र ४ वटा आउने गर्दैछन् । सुनौलो पूर्व नेपाल यातायात सेवा विराटनगरका सञ्चालक राजु धमला सडक पार गर्न सजिलो नभएकाले बस सुचारु हुन नसकेको बताउँछन् ।

विराटनगरबाट काठमाडौं चल्ने १७ वटा कम्पनीका ३४ भन्दा बढी ठूला बस छन् । चितवनको बाटो ठाउँठाउँमा पहिरो गएकाले सहज आवत जावत नहुँदा थोरै मात्रै बस सञ्चालनमा रहेको धमलाको भनाइ छ ।

‘काठमाडौंबाट आउने यात्री छन् जाने छैनन्, एकतर्फी भाडा लिएर गाडीलाई घाटा छ’ उनले भने । सरकारले तोकेको २ हजार २ सय ५० रुपैयाँ भाडामा हाल बस चल्दैछन् । सडक अवरुद्ध हुनुअघि प्रतिस्पर्धा बढी भएकाले १ हजार ५ सय रुपैयाँमै गाडीले यात्री चढाउँथे ।

विराटनगर बस टर्मिनलका इन्चार्ज भीम अधिकारीका अनुसार जोखिमपूर्ण बाटो उज्यालोमै पार गर्नुपर्ने बाध्यता छ । अपरान्ह ४ बजे हिंड्ने बस अहिले २ बजे हिंड्छन् ।

जाँदा नारायणघाटमा अडिएर उल्यालो भएपछि मात्रै पहाडी बाटोमा यात्रा गर्छन् भने आउँदा उज्यालोमै जोखिमयुक्त बाटो पार गर्नु पर्ने हुन्छ । हेटौडा माथि भीमफेदीको बाटो सफा भएपछि पूर्वबाट चल्ने  माइक्रो बस सो रुटबाट सञ्चालन हुने सम्भावना रहेको व्यवसायीहरू बताउँछन् ।

वीपी राजमार्ग छोटो रुट भएकाले  माइक्रो बस न्यूनतम भाडामा पनि चल्दै आएका थिए । मुग्लिङको बाटो लामो रुट खुलेपछि भने माइक्रो बस सञ्चालन हुन सक्ने बताइएको छ ।

हाइस सञ्चालन गर्दै आएका इन्द्रेणी यातायात तथा हिमाल यातायात प्रालिका सञ्चालक बसन्त काˆले लामो दुरी भएकाले मुग्लिङबाट हाइस सञ्चालन गर्न भाडा बढी हुने बताउँछन् ।

हाइसको भाडा २ हजार रुपैयाँ रहेको छ । अहिले काठमाडौं जाने यात्री नभएकाले आउने मात्रै छन् ।

एकतर्फी यात्रीबाट उठ्ने रकमले  माइक्रोलाई घाटा हुने भएकाले त्यसै थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको उनले बताए । सबै गाडी बैंकबाट ऋण लिएर खरिद गरिएका छन् । गाडी नचलेकाले बैंकलाई ब्याज तिर्नसमेत समस्या रहेको उनको भनाइ छ ।

View : 180

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved