विराटनगर । आफू अनुकूल प्रदेश नेतृत्वको आडमा केन्द्रीय निर्देशन लत्याउँदै अधिवेशन टार्दै आएको नेकपा (एमाले) मोरङको संगठन कमिटीलाई तत्कालै अधिवेशन आयोजना गर्न दबाब बढ्दै गएको छ ।
एमालेका नेताहरुले संगठन कमिटीलाई अधिवेशन टार्ने छुट र अधिकार नभएको बताउँदै तत्कालै अधिवेशन गर्न दबाब दिएका हुन् ।
जिल्ला अधिवेशन गराउने मुख्य कार्यादेशसहित गठन भएको जिल्ला संगठन कमिटी प्रदेश कमिटीको आडमा आफ्नो कार्यावधि लम्ब्याइरहन सफल बन्दै आएको छ ।
जबकि पार्टीको विधानले तोकिदिएको अवधि भने संगठन कमिटीले गुजारिसकेको छ । एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य विनोद ढकाल जिल्ला अधिवेशन चाँडै आयोजना गरिनुपर्ने बताउँछन् ।
‘पार्टी केन्द्रले मोरङको जिल्ला अधिवेशन गराउन पटक–पटक सर्कुलर गरिसकेको छ तर अधिवेशन हुन सकिरहेको छैन’, उनले भने ‘यसले पार्टी केन्द्रको निर्देशन पालना नगरेको सन्देश स्थापित भइरहेको छ । यो पार्टीका लागि राम्रो हुँदैन । त्यसैले अधिवेशन सकेसम्म छिटो आयोजना गर्न जिल्ला नेतृत्व लाग्नुपर्छ । उहाँहरु लाग्नुहोला भन्ने मेरो आशा छ ।’
एमाले मोरङका तत्कालीन अध्यक्ष ऋषिकेश पोखरेल नेतृत्वमै २०८० जेठमा अधिवेशन आयोजक कमिटी बनेको थियो ।
आयोजक कमिटी बनेकै पनि एक वर्षपछि मात्रै सांसद पोखरेलले पद त्यागेका थिए । र, २०८१ जेठमा बाबुराम कार्की नेतृत्वमा संगठन कमिटी बनेको थियो ।
एमालेको विधानले संगठन कमिटीको मुख्य काम आफ्नो अधिवेशन सम्पन्न गराउनु पर्ने किटान गरेको छ । विधान अनुसार संगठन कमिटीको अवधि ६ महिनाको हुने उल्लेख छ । जेठ १८ मा बनेको कमिटीको अवधि पूरा भइसकेको छ ।
अहिलेको संगठन कमिटीकै अध्यक्ष बाबुराम कार्की नेतृत्वको कमिटीबाट महानगर अध्यक्षबाट कारबाहीमा परेका नेता सागर थापाले पनि जिल्ला अधिवेशन तत्कालै हुनुपर्ने माग गरेका छन् । थापा स्वयम् जिल्ला अध्यक्षका एक जना दाबेदार हुन् ।
‘जुन उद्देश्यकासाथ संगठन कमिटी बनेको थियो, त्यो काम गर्न उसले ढिलाइ गर्न हुँदैन । त्यसो गर्नु पार्टी विधानको अवहेलना हुन्छ’, थापाले भने ‘त्यसैले संगठन कमिटीले अधिवेशन टार्ने होइन, अविलम्ब राम्रोसँग अधिवेशन आयोजना गर्ने हो ।’
विभिन्न बहानाबाजी गरेर अधिवेशन पटक–पटक सारिएको बताउँदै नेता थापाले थपे ‘अहिलेको कमिटी निर्वाचित होइन । यसले कुनै पनि बहानाबाजी नगरी अधिवेशनमार्फत निर्वाचित कमिटीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’
अहिले एमाले मोरङ जिल्ला कमिटी सदस्य रहेका एक नेताका अनुसार विधानले ‘आवश्यकता परेमा एक तह माथिल्लो कमिटीले बढीमा ६ महिनाको अवधि थप्न सक्नेछ’ भन्ने वाक्यको छिद्र प्रयोग गरेर प्रदेश कमिटीले मोरङ संगठन कमिटीलाई निरन्तरता दिइरहेको छ ।
उनका अनुसार अधिवेशन गराउने मुख्य काम लिएर बनेको संगठन कमिटीले सात महिना बित्न लागिसक्दासम्म पनि अधिवेशन मिति तोक्न चाहेको छैन । यद्यपि जिल्ला सचिव रबिन थापाले भने आउँदो फागुनभरीमा अधिवेशन गर्ने भन्ने योजनामा संगठन कमिटी रहेको बताएका छन् ।
एमाले मोरङका इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य जीवन घिमिरे, अध्यक्ष बाबुराम कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडासहितका नेताहरु एकातिर र नेता विनोद ढकाल पक्षका नेताहरु अर्कोतिर हुने अवस्था रहेको मोरङमा जिल्ला कमिटीका बहुसंख्यक सदस्यले पनि अधिवेशन समयमै हुनुपर्ने माग गर्दै आएका छन् ।
तर, आफू इतर पक्षका व्यक्तिले अधिवेशनमा चुनाव जित्ने भयले अधिवेशन आयोजना गर्न नखोजिएको एक सदस्य बताउँछन् ।
View : 875
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved