Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेको संकल्प यात्रा टोली आज धनकुटा हुँदै वसन्तपुर पुग्ने

उद्‌घोष संवाददाता
२८ मंसिर २०८०, बिहिवार

Advertisement

धनकुटा । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को टोली आज धनकुटा आइपुग्ने भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५औं दिनमा धनकुटा आइपुग्ने भएको हो ।

एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । 

संकल्प यात्राको टोलीलाई बिहीबार बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।

अध्यक्ष पराजुलीले भने, ‘लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रमहरू राखिएका छन्, त्यहाँका कार्यक्रमहरूमा सहभागी हुँदै टोली वसन्तपुर पुगेपछि बृहत् आमसभा गर्ने तयारी गरेका छौं ।’

१८ दिनसम्म सञ्चालन हुने संकल्प यात्रामा एमाले अध्यक्ष ओलीसहितका नेताहरु सहभागी  हुँदै आएका छन् । यात्राका त्रममा लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछ ।

यसैगरी धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

जोरपाटीमा पनि संकल्प यात्राको टोलीलाई स्वागत गर्ने तयारी छ । सिधुवा पुगेर अध्यक्ष ओलीसहितको टोलीले त्यहाँका कृषकसहित कृषि क्षेत्रसम्बद्ध सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । 

सिधुवाको कार्यक्रम सकेर गएपछि वसन्तपुरमा दिउँसो आमसभा गर्न लागिएको हो । धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट संयुक्तरूपमा गर्न लागिएको आमसभामा १५ हजारभन्दा बढी जनसहभागिता हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख नैन विश्वकर्माले बताए । 

पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन हुने एमालेले जनाएको छ ।

View : 554

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved