Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

रवि लामिछाने माथिको छानबिन र अनुसन्धानमा भेदभाव नहोस् : नारायणकाजी

उद्‌घोष सम्वाददाता
७ कार्तिक २०८१, बुधवार

विराटनगर । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि हुने छानबिन र अनुसन्धानमा भेदभाव हुन नहुने बताएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादमा श्रेष्ठले लामिछानेलाई पक्राउ गरिएको विषय ठिक या बेठिक भन्ने विषयमा भने बोलेनन् । तर उनले अनुसन्धानमा भने सरकारले भेदभाव गरेको आरोप लगाए ।

‘रवि लामिछाने पक्राउ पर्नु ठिक र बेठिक भन्ने होइन, कसैलाई पनि विधि पुर्‌याएर अनुसन्धान गर्नसक्छ’ श्रेष्ठले भने, ‘हाम्रो कुरा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भेदभावपूर्ण हुनुहुँदैन, तर भेदभाव भइरहेको देखिन्छ ।’

उनले सहकारीको ठगीसँग सम्बन्धित भनेर आएको सत्तारुढ पार्टीकै नेताहरूलाई भने सरकारले अनुसन्धान नगरेको उनले आरोप लगाए ।

बरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले कुनै सकारात्मक काम गर्न नसकेको भन्दै आलोचना गरे । 

सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनःस्थापना गर्न नसकेको आरोप लगाए ।

श्रेष्ठले दुई ठूला पार्टी मिल्दा पनि अध्यादेशबाट काम चलाउने अवस्था आइपरेको भन्दै सरकार कमजोर बनेको बताए । उनले माओवादी केन्द्रको ध्यान सरकारमा जानेतिर नभएको पनि बताए । 

‘सरकारतिर हाम्रो आँखा छैन’ उनले भने, ‘जल्दाबल्दा समस्यालाई लिएर सरकारलाई ध्यानाकर्षण गराउने, जनताको पक्षमा काम गराउन दबाब दिने पनि प्रतिपक्षको काम हो । त्यसकारण हामीले विरोध गरेका हौँ ।’ 

उनले आफूहरू बामपन्थी शक्तिहरूको एकताको पक्षमा भएपनि तत्काल त्यो सम्भावना नरहेको बताए । उनले नेपालका कम्युनिष्ट मिलाउन चीनको भूमिका नरहेको समेत बताए ।

View : 145

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved