Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरको भाटभटेनीमा नियन्त्रणमा आउन सकेन आगो, वरिपरीको जमिन तातिएर फुल्यो

उद्‌घोष संवाददाता
२५ भदौ २०८२, बुधवार

विराटनगर । विराटनगरको भाटभटेनी सुपरमार्केटमा मंगलबार राती भएको आगजनी नियन्त्रण हुन सकेको छैन । पाँचौं तलसम्मै आगो फैलिंदा भित्र रहेका सवै सरसामान जलेर खरानी भएका छन् ।

जमिनमुनि पार्किङका लागि बनाइएको दुईवटा तल (अन्डर ग्राउण्ड) र भुँईतलमा अहिले पनि आगो दनदनी बलिरहेको छ ।

अन्डर ग्राउण्डमा आगो लागेका कारण भाटभटेनीको वरिपरीको जमिन फुलिएर माथि उठेको छ । भित्र आगो लाग्दा तातो धुँवा बाहिर जान नसक्दा जमिन फुलिएर फुटेको ठाउँबाट धुवाँ निस्किइरहेको छ ।

भाटभटेनीमा उत्तेजित प्रदर्शनकारीले आगजनी गरेका हुन् । मंगलबार दिनभरी सरकारी कार्यालयहरूमा तोडफोड गर्दै हिंडेका प्रदर्शनकारीहरूले साँझ परेपछि भाटभटेनीलाई केन्द्रीत गरेर तोडफोड सुरु गरेका हुन् । 

उनीहरूले भाटभटेनी अगाडि विभिन्न बैंकका एटिएम मेसिन तोडफोड गर्दै लुटपाटको प्रयास गरेका थिए । लुटपाट गर्न नसकेपछि उनीहरूले एटिएममा आगो लगाएका थिए । 

एटिएमबाट फैलिंदै गएको आगोले भाटभटेनीको सवै तलमा फैलिएको हो ।

तोडफोड र आगजनीमा जोगीजस्ता देखिने र नेपाली बोल्न नजान्ने व्यक्तिहरू समेत संलग्न देखिएका थिए । 

विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरेपनि सम्भव देखिएको छैन । 

यता, जेनजी समुहको नाममा निकालिएको एउटा विज्ञप्तिमा भने आफुहरूले भाटभटेनीमा आगो नलगाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा कसैको पनि नाम भने उल्लेख छैन ।

 

View : 528

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved