Biratnagar, Morang, Nepal
२३ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

धानखेतमा भेटिएको नवजात शिशुको नाम जुर्यो दयानिधी, ७९ वर्षीया पोखरेलले गरिन् न्वारान

उद्‌घोष संवाददाता
२३ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगर–४ इक्राहीस्थित नहर छेउको धानखेतमा बोराभित्र पोको पारेर फालिएको अवस्थामा फेला परेका नवजात शिशुको मंगलबार न्वारान गरिएको छ । विराटनगरस्थित पूर्वाञ्चल बालसेवा आश्रममा आश्रय लिइरहेका शिशुको विधिपूर्वक नामकरण कर्म सम्पन्न गरिएको हो ।

भदौ १३ गते बिहान स्थानीयवासीले नहरमा बोराभित्र पोको पारेर फालिएको अवस्थामा शिशु फेला पारेका थिए । घटनाको जानकारी पाएपछि प्रहरीले शिशुको उद्धार गरी स्वास्थ्य परीक्षणका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्‍याएको थियो ।

स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा शिशुलाई पूर्वाञ्चल बालसेवा आश्रममा ल्याइएको थियो । आश्रममा ल्याइएका शिशुको ११ दिन पुगेपछि मंगलबार न्वारान गरिएको हो ।

शिशुको जन्म समयका आधारमा आगमन घडी र पलाको गणना गर्दा कुम्भ राशि परेको र नाम ‘दयानिधि’ जुरेको आश्रमले जनाएको छ ।

आश्रमकी संस्थापक ७९ वर्षीया सीता पोखरेलले शिशुको न्वारान कर्म गरिन् । लामो समयदेखि असहाय तथा अभिभावकविहीन बालबालिकाको संरक्षण गर्दै आएकी पोखरेलले पुनः एक नवजात शिशुको न्वारान गर्ने अवसर पाएकोमा भावुक हुँदै खुसी व्यक्त गरिन् ।

पोखरेलले शिशुको न्वारान गर्दै आफूले फेरि आमा बन्ने सौभाग्य प्राप्त गरेको अनुभूति भएको बताइन् । आश्रममा आएको नवजात शिशुको संरक्षण, पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारीसमेत आश्रमले लिने जनाएको छ ।

बोराभित्र पोको पारेर नहरमा फालिएको अवस्थामा उद्धार गरिएका ‘दयानिधि’ अब आश्रमको संरक्षणमा हुर्किने भएका छन् ।

View : 80

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved