Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

शिक्षक आन्दोलनले ततायो काठमाडौं

उद्‌घोष संवाददाता
२५ फागुन २०८१, आइतवार

विराटनगर । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा देशैभरिका शिक्षकहरु काठमाडौं केन्द्रित भएर बृहत आन्दोलन थालेका छन् । 

नेपाल शिक्षक महासंघले लामो समयदेखि विभिन्न मागहरु राखी आन्दोलन गर्दै आएको छ । २०८० साल असोज ३ गतेदेखि १२ गते सम्म उनीहरुले सडक आन्दोलन पश्चात सहमति सम्झौता सरकारसँग गरे पनि कार्यान्वयन नगरेको भन्दै शिक्षकहरू आन्दोलित भएका हुन् । 

स्थानीय पालिका शिक्षा विकास र समन्वय इकाई मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रालय हुँदै शनिबार उनीहरुले काठमाडौंको माइतीघर मण्डलाबाट बानेश्वरसम्म जुलुस निकालेका थिए । 

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँ  बानेश्वरबाट फिर्ता भई माइती घर मण्डलामा कोण सभामा परिणत भएको थियो । 

कोणसभामा शिक्षकहरुलाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमैयाँ पराजुली, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीनसिंह धामी, नेपाल विद्यालय  कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारी लगायतले चालु हिउँदे अधिवेशनबाट प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० पारित गर्न जोडदार माग गरे । साथै अस्थायी प्रकृतिका शिक्षक विद्यालय कर्मचारीका समस्या तत्काल समाधान गर्न राज्यलाई आग्रह गरे ।

आइतबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठक बसी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । 

सोमबार विभिन्न दलका पार्टी कार्यालयहरूमा धर्ना दिने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष कुमार पोखरेलले जानकारी दिए ।

View : 471

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved