Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

संस्कृति संरक्षण र सीप प्रवर्धनमा भुजेल समाज

उद्‌घोष संवाददाता
२१ चैत २०८२, शनिवार

Advertisement

विराटनगर । भुजेल समाज सेवा समिति, विराटनगर महानगरपालिका समितिले आफ्नो भाषा, संस्कृति र समुदायको सीपलाई सम्मान गर्दै एक विशेष समारोह सम्पन्न गरेको छ।

शुक्रबार विराटनगर–११ स्थित संगम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सांस्कृतिक संरक्षण र सामाजिक उत्थानका विविध गतिविधिहरू प्रस्तुत गरिए।

आजीवन सदस्यलाई सम्मान र सीपको कदर

समाजको उत्थानमा योगदान पुर्‍याउने ५१ जना आजीवन सदस्यहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। 

यसैगरी, समुदायभित्रको कला र सीपलाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगर–६ की प्रतिमा भुजेललाई सिलाई मेसिन प्रदान गरियो। सोही अवसरमा समाजले आगामी २०८३ सालको भित्ते पात्रो समेत विमोचन गरेको छ।

संस्कृति जोगाउन दैनिक व्यवहारमा लागू गर्नुपर्छ : नगर प्रमुख कोइरालाकार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मौलिक संस्कार र संस्कृतिलाई समयसापेक्ष परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।

"आफ्नो मौलिक संस्कृतिलाई भुलेर जन्मदिनमा केक काट्ने जस्ता बाह्य चलन बढ्नु चिन्ताको विषय हो," प्रमुख कोइरालाले भन्नुभयो, "भाषा, लिपि र संस्कारलाई जोगाउन वर्षको एक दिन कार्यक्रम गरेर मात्र पुग्दैन, यसलाई दैनिक व्यवहार र चलनचल्तीमा ल्याउनु आवश्यक छ।"

खोज र पूर्वाधारमा जोड

कार्यक्रममा भुजेल संस्कृति र लिपिका अध्येता लक्ष्मण थुसिरोङ भुजेलले ऐतिहासिक र पुरातात्विक प्रमाणहरूको संकलनमा सक्रिय हुन समुदायलाई आग्रह गर्नुभयो।

त्यसैगरी, नेपाल आदिवासी जनजाति महासंघ विराटनगरका संयोजक सुरेश सिंह गन्गाईले आदिवासी समुदायका लागि पूजा स्थल र सामुदायिक भवनको अभाव रहेको भन्दै महानगर प्रमुखको ध्यानाकर्षण गराउनुभयो।

महेन्द्र मोरङ क्याम्पसमा प्राध्यापनरत विजयहरि खतिवडाले  यस्ता कार्यक्रमले पुस्तान्तरणमा सहयोग पुग्ने बताउँदै यसलाई जीवनशैलीकै रूपमा अपनाउन सुझाव दिनुभयो।

समाजका अध्यक्ष गोपाल भुजेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष, विभिन्न जातीय संस्थाका पदाधिकारीहरू र समुदायका अगुवाहरूको उपस्थिति  थियो। कार्यक्रमले भुजेल समुदायको पहिचान रक्षा र आर्थिक स्वावलम्बनका लागि सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

View : 386

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved