फोटो क्याप्सनः सुनसरीमा खैरो हेरोइनसहित पक्राउ परेका घिमिरे र भट्टराई । तस्वीर: उद्घोष
विराटनगर । लागुऔषधका कारेबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको छ । दुई गोली प्रहार गरेर मोरङबाट मंगलबार एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ ।
रतुवामाई नगरपालिका–६ कादुपाडाबाट भारतीय नागरिक भगिरथ हरिजनको तिघ्रामा दुई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ । बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा खैरो हेरोइन बोकेर आउँंदै गरेको सूचनाका आधारमा हरिजनलाई नियन्त्रणमा लिने प्रयास भएको थियो । उनी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको बताइएको छ ।
घाइते हरिजनको उर्लाबारीमा उपचार भई रहेको छ । उनलाई नियन्त्रणमा लिने त्रममा दाहिने हात मर्किएर घाइते भएका प्रहरी सहायक निरीक्षक नवीन शाहीको पनि उपचार भई रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । प्रहरी स्रोतका अनुसार हरिजन झापातर्फबाट आएका थिए ।
लागुऔषध खैरो हेरोइनको कारोबार नियन्त्रण गर्न नेपाल प्रहरीको केन्द्रीय लागुऔषध ब्युरो झापा आएको थियो । झापाको काँंकडभिट्टा नाकाबाट नेपाल आएका हरिजनलाई प्रहरीले पिछा गरेको थियो । उनी भाग्ने क्रममा भित्री सडक हुंँदै मोरङतर्फ आएका थिए । हरिजनको साथबाट एक सय ५८ ग्राम खैरो हेरोइन जस्तो धुलो बरामद भएको छ ।
प्रहरीले पिछा गरेको थाहा भएपछि हरिजन मोरङको सीमावर्ति क्षेत्र हुँंदै भारतको किशनगञ्जतर्फ भाग्ने प्रयासमा थिए । उनी लागुऔषधको कारोबारी वा ब्यापारी भन्ने खुलेको छैन । सो धुलो परीक्षणका लागि प्रहरीले प्रयोगशालामा पठाएको छ । झापाको भारतीय सीमावर्ति क्षेत्रबाट खैरो हिरोइनको बढी कारोबार हुँदै आएको प्रहरीको भनाइ छ ।
यसैबीच लागुऔषध ब्युरो कोशी प्रदेशले मंगलबार सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ६ बाट दुई युवालाई करिव तीन ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको छ । को ४० प २४ नम्बरको मोटरसाइकलमा सवार संखुवासभा धर्मदेवी ४ का ३१ वर्षीय सुजन घिमिरे र सुनसरी इनरुवा–६ का २३ वर्षीय दिलबहादुर भट्टराई पक्राउ परेका छन् ।
View : 212
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved