विराटनगर : खानपिनको विधाको लोकप्रिय ब्राण्ड केएफसी र पिजा हट विराटनगरमा खुलेका छन् । विराटनगरको बीच भागमा कोशी राजमार्गको छेउको ‘द सेन्चुरियन मल’को भूइँतलामा ती कम्पनीका आउटलेट खुलेका हुन् ।
तारे होटलका रुपमा धमाधम निर्माण भइरहेको द सेन्चुरियन मल पूर्ण रुपमा सञ्चालनमा नआउँदै केएफसी र पिजा हटले पहिलो तला ओगटेका छन् । देवयानी इन्टरनेशनल नेपाल प्रालिले विराटनगरमा पहिलो पटक केएफसी रेस्टुरेन्टको १७ औं शाखा सञ्चालन गरेको हो । त्यसैगरी पिज्जा हटको यो शाखा पाँचौं हो । पिज्जा हट कोशी प्रदेशकै पहिलो शाखा रहेको जनाइएको छ ।
अन्तर्राष्ट्रिय फ्रेन्चाइजीमा केएफसीका झण्डै २६ हजार आउटलेटहरू छन् । विराटनगरमा सुरु भएको केएफसी रेस्टुरेन्टमा पिज्जा र चिकेन प्रेमीहरूको लागि स्वादको गन्तव्य बन्नेमा विश्वास गरिएको केएफसीका नेपाल म्यानेजर विजय शर्माले बताए ।
यी रेस्टुरेन्टहरूले स्वाद र भोजनको अनुभवलाई अझ यादगार बनाउने उनले दाबी गरे । साथै केएफसीको स्वाद थाहा पाएका र देशभरि फैलिएका ग्राहकहरूका लागि विराटनगरबाट समेत सेवा सुरु गर्न पाउनु निकै उत्कृष्ट सफलता भएको शर्माले बताए ।
हट एण्ड क्रिस्पी चिकेनदेखि स्वादिष्ट चिकेन पपकर्न, चिकेन स्ट्रिप्स र सँधै लोकप्रिय जिङ्गर बर्गरसम्म यो आउटलेटबाट उपलब्ध हुने जनाइएको छ ।
केएफसीका प्रमुख वित्त अधिकृत ऋतुराज साहका अनुसार नेपालको सबैभन्दा प्रिय र भरपर्दो पिज्जा ब्रान्ड पिज्जा हटले विभिन्न प्रकारका टपिङहरू, स्वादिष्ट पास्ता ब्यञ्जन र एपेटाइजरहरूका साथै प्रसिद्ध पिज्जाहरू उपलब्ध गराउने बाचा गरेको जानकारी दिए । उनले पिज्जाको सबैभन्दा असली स्वाद उपलब्ध गराउन पिज्जा हटले कुनै पनि कसर बाँकी नराख्ने उनले दाबी गरे ।
साथै विश्वमै स्वाद फैलिएका विभिन्न १८ प्रकारका आइक्रिसहरूले भरिएको क्रिम बेलको तेस्रो शाखा पनि सँगै सुरुवात गरिएको जनाइएको छ । यो आइसक्रिम पार्लर सञ्चालनले विराटनगरमा अन्तर्राष्ट्रिय रुचिका आइसक्रिमको स्वाद सहज रुपमा थाहा हुने जनाइएको छ ।
सेवा शुभारम्भको अवसरमा केएफसीले विशेष अफर प्रदान गरेको साहले बताए । केएफसी र पिज्जा हट रेस्टुरेन्टले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम् मापदण्ड कायम गरेको दाबी गरेको छ ।
विराटनगरमा केएफसी र पिज्जा हटको भव्य उद्घाटन पश्चात पिज्जा र चिकेनका स्वाद पारखीहरुलाई डेलिभरी साझेदार भोजडिल्स मार्फत पनि सेवा लिन सकिने जनाइएको छ । केएफसीको विराटनगर आउटलेट हरेक दिन बिहान १० बजेदेखि राती १० बजेसम्म खुल्ला हुने जनाइएको छ ।
View : 125
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved