विराटनगर : मानव स्वास्थ्यमा अति हानि गर्ने गुट्खामा नक्कली स्टिकरको प्रयोग गरेर अन्तःशुल्क छली गर्ने गरेको पाइएको छ । यो धन्दामा ठूलै गिरोह संलग्न रहेको अनुमान गरिएको छ ।
मोरङको धनपालथान–४ कर्सियाबजारमा किराना पसल गरी बस्ने एक जना ठूलो परिमाणको स्टिकरसहित पक्राउ परेपछि यसको जालो देशभर फैलिएको हुनसक्ने देखिएको हो । स्थानीय ४८ वर्षीय सुनिलकुमार राजवंशीलाई उनले नै सञ्चालन गरेको केशव किराना पसलबाट प्रहरीले शनिबार अपरान्ह रेडिमेड टोबाको लेखिएको ३ हजार १ सय ४० थान स्टिकरसहित पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार गुट्खाको प्याकेटमा लगाइने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । राजवंशीलाई आइतबार कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइएको छ ।
राजस्व कार्यालयको अन्तःशुल्क विभागले राजवंशीको बयान लिएर पुनः इलाका प्रहरी कार्यालय रंगेलीलाई नियन्त्रणमा राख्न जिम्मा दिएको छ । स्रोतका अनुसार राजवंशीको बयान पूरा भएको छैन । प्रहरीले उनलाई नियन्त्रणमा लिनेबित्तिकै नक्कली स्टिकर कहाँ र कसले छाप्ने गरेको छ भनेर अनुसन्धान थालेको थियो । पक्राउ लगत्तै राजवंशीले स्थानीय तहमै स्टिकर छापेको बताएका थिए ।
तर गुट्खाको प्याकेटमा लगाइने सो स्टिकर नक्कली नभइ सक्कली नै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । प्रहरीले पसलबाट भोला र करेन्ट नामका गुट्खाको प्याकेट पनि बरामद गरेको छ । गुट्खाको प्याकेटमा लगाइएको स्टिकर नच्यातिकन पुनः उक्काएर संकलन गरिने र त्यसलाई नयाँ प्याकेटमा लगाउन उद्योगसम्म नै पठाउने गिरोह यो कार्यमा संलग्न रहेको स्रोतले बताएको छ ।
‘प्याकेटका स्टिकर पुनः प्रयोगका लागि निकालेर संकलन गर्ने गिरोह देशभर हुन सक्छन्‚’ एक अनुसन्धान अधिकृतले भने ‘यसको सेन्टर कलेक्सन गरेर रियुजका लागि पठाइने रहेछ ।’ राजवंशीले कति मानिस परिचालन गरी स्टिकर संकलन गर्दै थिए र स्टिकर कति मूल्यमा उद्योगसम्म लगिन्छ भन्ने अनुसन्धानबाट छिट्टै खुल्ने स्रोतले बताएको छ । यो कारोबारमा मोरङका ग्रामीण क्षेत्रका मानिसहरु लागेको हुनसक्ने अनुमान छ ।
गुट्खा कम्पनीहरुले अन्तःशुल्कको स्टीकर बेगरपनि गोप्य रुपमा बेचबिखन गर्ने गरेको बताइएको छ । गुट्खाको प्रयोगले मुखको क्यान्सर हुने बढी सम्भावना हुंँदाहुँंदै पनि यसको व्यापारमा नियामक निकायले कडाइ गर्न सकेको छैन । विराटनगर महानगरपालिकाले खुल्ला रुपमा बिक्री र प्रयोगमा प्रतिबन्ध लगाए पनि त्यसको अनुगमन नगर्दा गुट्खा र सूर्तीजन्य वस्तु सार्वजनिकस्थलमै बेचेको र खाएको देखिन्छ ।
View : 367
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved