विराटनगर । बिहीबारदेखि विराटनगरबाट सुरु हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी तीब्र पारिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलाको उद्घाटन गर्ने मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा कोशी प्रदेशका निजी क्षेत्रका नेतृत्वदायी संघसंस्थासँगको सहकार्यमा रोजगार मेला हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए ।
श्रम जनशक्तिको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्न कोशी प्रदेशबाट मेला सुरु हुने जनाइएको छ । उक्त मेला सातै प्रदेशमा आयोजना हुने बताइएको छ ।
विराटनगरको सिटी पार्टी प्यालेसमा हुने रोजगार मेलामा ६ सय बढीको आवेदन आउन सक्ने र दुई सय बढीले रोजगार पाउने अवस्थाको सिर्जना गर्न लागिएको अध्यक्ष राउतले बताए ।
विराटनगर प्रदेशकै करिव ७० प्रतिशत उद्योग व्यवसाय भएको क्षेत्र भएकाले रोजगार मेलाको निकै ठूलो महत्व रहेको बताए ।
‘यहाँका उद्योगले स्वदेशी कामदार नपाएको स्थिति छ, भारतीयका कामदारबाट काम चलाउनुपर्ने बाध्यतामा हामी छौं’ राउतले भने, ‘मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने विश्वास छ ।’
मेलामा विशेषगरी उत्पादन तथा निर्माण उद्योग, होटल तथा हस्पिटलको क्षेक्रमा आवश्यक दक्ष जनशत्तिको खोजी हुने जनाइएको छ । त्यसका साथै रोजगारका लागि परामर्श सेवा समेत उपलब्ध गराइने जनाइएको छ ।
मेलाकै माध्यमबाट सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गर्दै लैजाने र श्रम शक्तिको सीप तथा क्षमता विकासको सम्भावना र उपयोगका लागि मध्यस्थता गरिने जनाइएको छ । मेलामा श्रमिक तथा सरोकारवालाले रोजगारीसँग जोडिएका गुनासोहरू समेत दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश संयोजक सुशीलप्रसाद आचार्यले मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मन्त्रालयले बाध्यात्मक अवस्थामा रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न समेत मेला महत्वपूर्ण अवसर हुने दाबी गरे ।
‘यो मेला बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात हो’ उनले भने, ‘अबको १५ वर्षपछि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने हाम्रो तयारी छ ।’
मेलामा रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै जानेबारेमा समेत छलफल हुने जनाइएको छ । त्यसैगरी वैदेशिक रोजगारीका सन्दर्भमा आवश्यक सूचना प्रवाह गर्ने तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीलाई न्यूनीकरण गर्न पनि मेला फलदायी हुने जनाइएको छ ।
मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतको स्टल रहने छन् ।
हरेक प्रदेशमा दुई दिनसम्म चल्ने रोजगार मेलाको समापन बागमती प्रदेशमा जेठ ३० गते हुने जनाइएको छ । विराटनगरमा हुने मेलामा उद्योगी व्यवसायीहरू, रोजगारदाता कम्पनी तथा परामर्श सेवा प्रदायकसमेत गरी ५० वटा स्टलहरू रहने जनाइएको छ ।
View : 191
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved