Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

त्रिकोणात्मक टी-२० सिरिज

नेपाल र पपुवा न्युगिनीबीच फाइनल तय

उद्‌घोष सम्वाददाता
२९ फागुन २०८०, मङ्गलवार

काठमाडौँ, २९ फागुन । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्युगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित ग¥यो । जितसँगै पपुवा न्युगिनीले दुई खेलमा दुई अङ्क जोड्यो । 

हङकङ समान खेलबाट एक अङ्कका साथ फाइनल पुग्नबाट बञ्चित भयो । साथै दुई खेल खेलेको नेपालले तीन अङ्क जोडेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । फाइनल खेल भोलि बुधबार हुनेछ ।

हङकङले जितका लागि दिएको एक सय २२ रनको लक्ष्य पपुवा न्युगिनीले १२ दशमलव चार ओभरमा कुनै विकेट नै नगुमाइ पूरा गर्यो । 

पपुवा न्युगिनीका लागि सेसे बाउले ४३ बलमा चौका छ चौका र एक छक्काको मद्दतमा अविजित ६१ रनको योगदान दिए । त्यसैगरी टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १२१ रनको योगफल बनाएको थियो ।

हङकङका लागि जिसन अलीले २९ बलमा छ चौका र एक छक्काको मद्दतले ५५ रन बनाए । नस्रुला राना र एहसान खानले समान १६-१६ रन जोडे भने बाबर हायतले १२ रन बनाए ।

पपुवा न्युगिनीका काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई-दुई विकेट लिए ।

View : 339

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved