विराटनगर । भारतको पटनास्थित एमिटी युनिभर्सिटी र कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बीच शैक्षिक तथा प्राविधिक सहकार्यका लागि सम्झौता भएको छ ।
एमिटी युनिभर्सिटीको स्कूलअफ ट्रेनिङ एण्ड लर्निङ र एमटीयूको स्कुल अफ एप्लाइड साइन्स टेक्नोलोजी एण्ड ल बीच शैक्षिक तथा प्राविधिक सहकार्यका लागि सम्झौता भएको हो ।
हालै सम्पन्न सम्झौता अनुसार एमिटी र एमटीयूले आआफ्ना शैक्षिक कार्यक्रम, अनुसन्धान, तालिम र विद्यार्थी आदान–प्रदानका क्षेत्रमा सहकार्य गर्नेछ ।
विज्ञान, प्रविधि, इञ्जिनियरिङ लगायतका विषयमा संयुक्त परियोजना सञ्चालन, कार्यशाला, सेमिनार तथा इन्टर्नशिपमार्फत विद्यार्थीलाई व्यावहारिक अवसर दिने योजना आदान–प्रदान हुनेछ ।
एमटीयूले नेपालका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको तालिम र अध्ययन–अनुसन्धानमा एमिटीउसँग जोड्ने छ भने एमिटीले पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन तथा प्राविधिक स्रोत उपलब्ध गराउने जिम्मेवारी लिनेछ ।
सम्झौतापत्रमा एमटीयूको तर्फबाट रजिष्ट्रार डा. दिलनाथ फुयाल र इन्स्टिच्युट अफ लका प्रिन्सिपल कोषराज न्यौपाने र एमटियूको तर्फबाट कूलसचिव डा.एनके यादव र कानुन विभाग अध्यक्ष डा. राजिव रंजन झाले हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्तान्तरण कार्यक्रममा एमिटी तर्फबाट कुलपति प्रा अर्चन ठाकुर, विधि विभाग प्रमुख प्रा राजीव राय र विश्वविद्यालयका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए ।
मनमोहन प्राविधिक विश्वविद्यालयतर्फ रजिष्ट्रार डा दिलनाथ फुयाल, प्राचार्य कोषराज न्यौपाने लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।
एमटीयूका रजिष्ट्रार डा. दिलनाथ फुयलका अनुसार सम्झौता प्रारम्भिक रूपमा तीनदेखि पाँच वर्षका लागि लागू हुनेछ र आपसी सहमतिमा नवीकरण पनि गर्न सकिनेछ ।
कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले छोटो समयमै अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग शैक्षिक सहकार्य बढाउँदै लगेको छ ।
यसअघि मनमोहनले भारत आसामको गुहाटी विश्वविद्यालय र पश्चिम बंगाल युनिभर्सिटीसँग पनि शैक्षिक सहकार्यका लागि सम्झौता गरिसकेको छ ।
यसबाहेक भारत, बंगलादेश र पाकिस्तानका विश्वविद्यालयका विज्ञहरुलाई स्रोत शिक्षकका रुपमा आमन्त्रण गरेर कक्षा सञ्चालन गराउन थालेको छ ।
View : 360
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved