Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

चिनिया सूचनाले कोशी बेसिनमा खतराको घन्टी

विज्ञहरू भन्छन्– ‘तिब्बतमा हुने भनिएको भीषण वर्षाले कोशीमा ठूलो बाढी निम्त्याउँछ । सचेत हुन आवश्यक छ ।’
उद्‌घोष संवाददाता
५ असार २०८२, बिहिवार

विराटनगर । सप्तकोशीका दुई सहायक नदीहरू भोटेकोशी र सुनकोशी नदी र त्यसको प्रभाव क्षेत्रमा जोखिम बढ्ने सूचनाले कोशी प्रदेशलाई पनि ‘अलर्ट’ रहन झस्काएको छ । भोटेकोशी, दूधकोशी, सुनकोशीलगायतका सबै हिमनदीहरू मिसिएर सप्तकोशी बनेको हो । 

सप्तकोशीको सबैभन्दा मुख्य प्रभाव र जोखिम क्षेत्र कोशी प्रदेश नै हो ।

विज्ञहरूका अनुसार तिब्बती क्षेत्रमा भारी वर्षा हुने र त्यसले भोटेकोशी र सुनकोशी नदीमा पानीको वहाव उच्च हुन सक्ने भनेपछि त्यसको प्रत्यक्ष प्रभाव कोशी प्रदेशमै पर्छ । 

‘सप्तकोशीका सहायक हिमनदीहरूमा पानीको वहाव उच्च हुन सक्ने चिनिया चेतावनी कोशी प्रदेशका लागि सबैभन्दा जोखिमको विषय हो’, कोशी प्रदेश सरकारका विपद् विज्ञ रामकुमार दाहालले उद्घोषसँग भने ‘ती सबै नदीहरू अन्ततः कोशीमा मिसिने हुन् । सात वटा नदी मिसिएर सप्तकोशी कोशी प्रदेशमै बन्ने हो । त्यसको सबैभन्दा ठूलो असर हाम्रो प्रदेशमै पर्ने निश्चित छ ।’

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुनकोशी बेसिनमा कोशी प्रदेशका धेरै भूभाग उच्च जोखिम क्षेत्रमा पर्छन् । 

बाढी र पहिरोका दृष्टिले उच्च जोखिम क्षेत्रमा पर्ने भएकैले बुधबार चिनिया पक्षबाट नेपाललाई प्राप्त सूचना कोशी प्रदेशका लागि खतराको घन्टी हो । 

त्यसो त चिनिया पक्षले सुरक्षाकर्मीमार्फत नेपाललाई सूचना दिएपछि सो सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेले सतर्कता अपनाउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरिसकेका छन् । 

सिन्धुपाल्चोक र काभ्रेले यस्तो सूचना जारी गरिरहँदा कोशीको मुख्य प्रभाव क्षेत्र मानिने उदयपुर, सुनसरीलगायतका जिल्लामा पनि सतर्कता थालिएको प्रशासनले जनाएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चिनिया सूचनाले आफूहरूलाई अलर्ट तुल्याएको जानकारी दिंदै सुरक्षा सतर्कता सुनसरीमा पनि बढाइएको बताए । 

‘हामीलाई यसबारे आधिकारिक जानकारी विपद् प्राधिकरणबाट आउने हो, अहिलेसम्म आइसकेको छैन’, बुधबार साँझ प्रजिअ मिश्रले उद्घोषसँग भने, ‘तर, सिन्धुपाल्चोक र काभ्रेको सूचनाले हामीलाई अलर्ट बनाएको छ । हामी उच्च सकर्ततामै छौं ।’ 

उनका अनुसार कोशीका बाँधहरूको मर्मतसम्भार भर्खरै सकिएको छ । यसले पनि जोखिम कम गर्न सहयोग पुग्ने उनको विश्वास छ । 

सप्तकोशीमा मिसिने सहायक हिमनदीहरूको उद्गम थलो तिब्बत हो । त्यसमध्ये सुनकोशी नदी नेपालको तातोपानी, कोदारी हुँदै बलेफी आइपुग्छ । 

भोटेकोशी नदी तिब्बतबाट दिपु, बरम्ची, चनौटे हुँदै बलेफी नै आइपुग्छ । बलेफीमा यी दुई नदी मिसिन्छन् र सुनकोशीकै रुपमा रुपान्तरण हुन्छ । त्यसैगरी तामाकोशी नदी पनि सेलेघाटमा आएर सुनकोशीमै मिसिन्छ । 

यसैगरी दोलालघाटमा आइपुगेर सुनकोशीमा कोशीकै अर्को सहायक नदी इन्द्रावती पनि मिसिन्छ । यसरी मिसिने प्रक्रियाबाट ठूलो हुँदै जाने क्रममा जयरामघाटमा आइपुगेर दूधकोशी सुनकोशीमा मिसिन्छ । 

धनकुटा र सुनसरीको सीमा क्षेत्रमा अरुण र बराहक्षेत्रमा आएर तमोर पनि मिसिएपछि सप्तकोशी बन्ने प्रक्रिया पूरा हुन्छ । 

‘सप्तकोशी बनेपछिको विशाल नदीले पुर्याउने क्षति भनेकै कोशी प्रदेशमा हो’, विपद् विज्ञ दाहाल भन्छन् ‘त्यसैले चिनिया सूचनालाई आधार मानेर प्रदेशमा हामीले उच्च सतर्कता अपनाउनुको विकल्प छैन ।’ 

कोशीमा १ लाख १६ हजार ८ सय १८ घरपरिवार  मनसुनजन्य विपद्को जोखिममा रहेको सरकारी अध्ययनबाटै देखिएको छ । 

पहिरो, बाढी, डुबान, कटान लगायतका विपद्ले हरेक वर्ष प्रदेशमा जनधनको ठूलो क्षति गर्दै आएको छ । त्यसमा पनि कोशीले पुर्याउने क्षति सधैँ धेरै हुने गरेको छ । 

कोशीमा २ हजार ४ सय ६६ घरपरिवारलाई  तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ । 

कोशीका १४ जिल्लामध्ये मोरङ, सुनसरी, झापा र उदयपुर बाढी, पहिरो, डुबान र कटान सबैथरी जोखिममा छन् ।  

सप्तकोशी नदीमा आएको बाढीले २०६५ भदौ २ मा बाँध भत्काउँदा सुनसरी, उदयपुर, सप्तरी क्षेत्रमा वितण्डा मच्चाएको थियो भने भारतको बिहारमा पनि ठूलो क्षति गरेको थियो । 

गत वर्ष असोजमा आएको बाढीताका पनि कोशीमा जलसतह ३७ वर्षयताकै उच्च भएको थियो । गत वर्ष असोज १२ मा कोशीमा जल सतह उच्च भएपछि पुलमाथिबाटै पानी बगेको थियो । 

गतवर्ष कोशीमा पानीको बहाव ५ लाख ५७ हजार क्युसेक पुगेको थियो भने धेरै दिन कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका थिए । 

‘तिब्बती भूभागमा हुने भीषण वर्षापछि आउने बाढी मिसिदै मिसिदै कोशीमै आइपुग्ने भएकाले हाम्रो प्रदेशमा जोखिम छ’, विज्ञ दाहालले भने ‘उच्च सतर्कता एक मात्र ध्यान हुनुपर्छ ।’

View : 875

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved