विराटनगर । मोबाइल, टेलिभिजन, कम्प्युटरको बढी प्रयोग गर्न रुचाउने आधुनिक पुस्ताका बालबालिकाहरूको आँखामा ‘मायोपिया’ को समस्या बढ्दै गएको पाइएको छ । बालबालिकाहरूले आँखाको नजिकै यस्ता उपकरणहरू राखेर हेर्ने गरेका कारण उनीहरूमा मायोपियाको समस्या बढ्दै गएको नेत्र रोग चिकित्सकहरुले बताए ।
नेपालमा हाल मायोपियाको समस्या ३० प्रतिशत बालबालिकामा रहेको जनाइएको छ । गोल्छा आँखा अस्पतालकी नेत्र रोग चिकित्सक डा. इशा श्रेष्ठका अनुसार मायोपियाको दर विश्वभर अत्यधिक गतिमा बढ्दै गएको छ ।
नजिकको वस्तुमात्रै देखिने तर टाढाको नदेखिने समस्यालाई ‘मायोपिया’ अर्थात अदुरदृष्टि भनिन्छ । नेपालमा विक्रम सम्वत् २१०७ साल (सन् २०५०) सम्म यस्तो समस्या ५० प्रतिशत बालबालिकामा हुने अनुमान गरिन थालेको छ । टिभी, मोबाइल लगायतका उपकरणको प्रयोग बालबालिकाहरूले अत्यधिक मात्रामा गर्दै आएका कारण उनीहरुमा मायोपियाको समस्या बढ्दै गएको हो ।
बढ्दो मायोपियाका कारण बालबालिकाहरु ठुलो संख्यामा प्रभावित हुन पुग्ने भएकोले उनीहरूलाई आवश्यक परामर्श र उपचार सेवा प्रदान गर्न गोल्छा आँखा अस्पतालले मायोफिया क्लिनिक सञ्चालन गर्ने तयारी अघि बढाएको हो ।
विश्व दृष्टि दिवसको अवसरमा मंगलबार विराटनगरका सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यत्रममा अस्पतालका नेत्र रोग विशेषज्ञ डा श्रेष्ठले गोल्छा आँखा अस्पतालले चाँडै मायोपिया क्लिनिक सञ्चालन गर्ने तयारी गरेको बताइन् । बालबालिकामा देखिएको आँखाका रोग सम्बन्धि समस्याबारे जानकारी दिंदै उनले अभिभावकहरुले मोबाइल, कम्प्युटर र टेलिभिजन बढी हेर्ने बालबालिकाको आँखा जाँच गर्न ढिलाइ गर्न नहुने उनले बताइन् ।
त्यसैगरी नेत्र रोग विशेषज्ञ डा अनिता देसारले चीन, सिंगापुर र ताइवान जस्ता देशमा मायोपियाको समस्या ८० प्रतिशत रहेको जानकारी दिइन् ।
उनले विश्वमा रहेका ४४ करोड ८ लाख बालबालिकाहरू मध्ये ३३ करोड ९४ लाख बालबालिकाले माइनस पावर लगाउनुपर्ने अवस्था रहेको बताइन् । त्यसैगरी नेपालमा ३० हजार २४० जना बालबालिकाहरू दृष्टिविहिन रहेको जानकारी दिंदै ९० हजार बालबालिकाहरूमा न्यून दृष्टि रहेको बताइन् ।
न्यून दृष्टि भएका बालबालिकाहरु मध्ये ९० प्रतिशत भने गाउँमा रहेको र उनीहरू मध्ये ८० प्रतिशतलाई उपचार गराउँदा निको हुने पनि उनले जानकारी दिइन् । दृष्टि दोष भएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले चस्मा प्रयोग गर्नुको विकल्प नहुने जनाइएको छ ।
४० बर्ष पुगेका जोसुकैले पनि आँखा जाँच गराउनु पर्ने जनाइएको छ । गोल्छा आँखा अस्पतालले विगतदेखि नै तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आँखा उपचार सेवा प्रदान गर्दै आएको जनाइएको छ ।
उक्त आँखा अस्पतालका निर्देशक मुकेश उपाध्यायले बालबालिकाहरूको आँखाको उपचारलाई केन्द्रित गरेर गोल्छा आँखा अस्पताल फाउण्डेशनको अगुवाइमा विश्व दृष्टि दिवस मनाइएको बताए । अस्पतालले सुनसरीको इटहरी, देवानगञ्ज, बराहक्षेत्र, मोरङको सुनबर्षी र धनपालथान गाउँपालिकामा सामुदायिक आँखा उपचार केन्द्र समेत संचालन गर्दै आएको जनाइएको छ ।
View : 137
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved