Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नवलपरासीमा नयाँ नागरिकता भन्दा राहदानी बनाउने बढी

उद्घोष सम्वाददाता
१६ भदौ २०८१, आइतवार

मध्यविन्दु , १६ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नयाँ नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जान अनुमतिपत्र राहदानी (पासपोर्ट) बनाउने सेवाग्राही बढी छन् ।

गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेभन्दा राहदानी लिने करिब आठ हजारले बढी रहेका छन् ।  

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गत आवमा १६ हजार नौ सय सात वटा राहदानी वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार राहदानी लिनेमध्ये १० हजार ३६ पुरुष, छ हजार दुई सय ७७ महिला र पाँच सय ९४ जना नाबालक रहेका छन् ।

जिल्लामा गत आवमा नयाँ नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या आठ हजार नौ सय ४६ जना रहेका प्रजिअ पोखरेलले जानकारी दिए ।

उनका अनुसार गैरआवासीय नागरिकताको प्रमाणपत्र लिनेको सङ्ख्या ३४, नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिने आठ हजार तीन सय ६० जना रहेका छन् ।

“गत आव जिल्लामा राहदानी लिनेको सङ्ख्या आव २०७९/८० को भन्दा तीन हजार नौ सय ८८ ले कम देखिएको छ”, प्रजिअ पोखरेलले भने, “आव २०७९ /८० मा जिल्लाबाट २० हजार आठ सय ९५ वटा राहदानी वितरण भएको थियो ।”  

गत आवमा नयाँ नागरिकता लिनेको सङ्ख्या आव २०७९/८० मा भन्दा एक हजार चार सय १२ ले कम रहेको प्रजिअ पोखरेलले बताए ।

उनले भने, “आव २०७९/८० मा जिल्लामा नयाँ नागरिकता लिनेको सङ्ख्या दश हजार तीन सय ५८ थियो ।”

उनका अनुसार जिल्लामा गत वर्ष २२ हजार ८७ वटा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ । 

आव २०७९/८० मा २२ हजार एक सय ४६ राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा राहदानी बनाउन जानेमा विद्यालय तथा कलेज उमेर समूहका विद्यार्थी उल्लेख्य रहेका उनको भनाइ छ । 

नौ करोड बढी राजस्व सङ्कलन 

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले गत आर्थिक वर्षमा कुल नौ करोड ८५ लाख ३३ हजार तीन सय ७० राजस्व सङ्कलन गरेको छ । 

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार राजस्व सङ्कलनको मुख्य स्रोत राहदानी वितरण रहेको छ ।

गत आवमा राहदानीबापत नौ करोड एक लाख ३२ हजार पाँच सय सात राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

उनका अनुसार गत आवमा सङ्कलन भएको राजस्व आव २०७९/८० को तुलनामा एक करोड ७१ लाख ७८ हजार एक सय सातले कमी हो ।

आव २०७९/८० मा ११ करोड ५७ लाख ११ हजार चार सय ७७ राजस्व सङ्कलन भएको थियो । प्रजिअ पोखरेलले भने, “गत आर्थिक वर्षमा राहदानी बनाउनेको सङ्ख्या अघिल्लो वर्षको भन्दा कम भएकाले राजस्व पनि केही घटेको देखिन्छ ।”  रासस

View : 98

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved