Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

रंगेलीले १० वर्षे शैक्षिक योजना बनाउने

उद्‌घोष सम्वाददाता
२४ पुष २०८१, बुधवार

रंगेली । मोरङको रंगेली नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि १० वर्षे शैक्षिक गुरुयोजना ल्याउने भएको छ ।

पालिकाभित्र शिक्षाको पहुँच बाहिर रहेका बालबालिकालाई लक्षित गरी गुरुयोजना ल्याउन लागिएको जनाइएको छ । नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारलाई समेत ध्यान दिएर १० बर्षे शैक्षिक गुरुयोजना तयार पार्न लागिएको हो ।

नगरपालिकाले गुरुयोजना निर्माणका लागि सुझाव संकलन सुरू गरेको छ । बुधबार रंगेली नगरपालिकाको वडा नम्बर १, २ र ३ मा सुझाव संकलन गरिएको जनाइएको छ । कार्यक्रममा अभिभावक, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवीलगायत सहभागी भएका थिए ।

नगरपालिकाले आगामी चैत मसान्तभित्र गुरुयोजना तयार पारेर कार्यपालिका बैठकबाट पारित गरिने लक्ष्य रहेको गुरुयोजना सुझाव संकलन तथा लेखन समितिका संयोजक एवं पब्लिक मावि रंगेलीका प्रधानाध्यापक अरविन्दकुमार शाहले बताए । नगरपालिकाले ९ वटै वडामा सुझाव संकलन गरिने उनले बताए ।

सबै वडाहरूबाट आएका सुझावलाई एकीकृत गरी १० वर्षे शैक्षिक गुरु योजना लागू गरिने जनाइएको छ ।

सुझाव संकलन कार्यक्रमका सहभागीहरूले भने प्रविधिमैत्री सिकाइ, समतामुलक र समावेशी शिक्षा, विद्यालयमा नर्सको व्यवस्था, दिवा खाजा, योग शिक्षक, भौतिक पूर्वाधार निर्माण, खानेपानी र शौचालय, कम्प्युटर तथा इन्टरनेट र विषयगत विद्यार्थी अनुपात दरबन्दी मिलानका बिषयलाई गुरु योजनामा समेटिनुपर्ने सुझाव दिएका थिए ।

View : 155

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved