Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

बीपी प्रतिष्ठानको सेवा ठप्प भएको भन्दै एमालेका सात सांसदले मुख्यमन्त्रीलाई गराए ध्यानाकर्षण

उद्‌घोष संवाददाता
२१ माघ २०८०, आइतवार

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नागरिकको उपचार सेवा ठप्प भएको भन्दै सुनसरीबाट प्रतिनिधित्व गर्ने सात जना प्रदेश सांसदहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । 

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारीहरुले बढुवा तथा स्तरोन्नतीको माग राखी आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानबाट हुने नियमित उपचार प्रभावित भएको भन्दै नेकपा एमालेका सात जना प्रदेश सांसदहरुले मुख्यमन्त्री कार्कीलाई आइतबार भेटेर ध्यानाकर्षण गराएका हुन् । 

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीसहित प्रदेश सांसदहरु रमेशकुमार बस्नेत, विजयकुमार राई, रामप्रसाद महतो, रोहितबहादुर कार्की, रामदेव यादव र मीना श्रेष्ठले प्रतिष्ठानको समस्या समाधानका लागि सहजीकरण गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका छन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको नाममा नेपाल–भारतको संयुक्त प्रयासमा स्थापना भएको प्रतिष्ठान स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्च शिक्षा अध्ययन अध्यापन, अनुसन्धान तथा स्वास्थ्य उपचारका लागि महत्वपूर्ण संस्था भए पनि क्रमशः धरासायी बन्दै गएको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री समेत भएकोले समस्या समाधानमा समन्वय र सहजीकरण गर्न सांसदहरुले मुख्यमन्त्री कार्कीलाई आग्रह गरेको बताए ।

ध्यानाकर्षण पत्रमा भनिएको छ ‘केही महिनायता सो संस्थाका चिकित्सक तथा कर्मचारीले स्वाभाविक रुपमा हुनुपर्ने आ–आफ्नो पद तहको बढुवा तथा स्तरोन्नतीको माग राखी आन्दोलन गरिरहेको कारण विद्यार्थीको पढाइ तथा नागरिकको उपाचार लगायतका सेवा प्राय ठप्प भैरहेको कारण ठूलो समस्या उत्पन्न भएको तपाईं यस प्रदेशको मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री समेत भएकाले सम्बन्धित प्रतिष्ठानका पदाधिकारी र संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गरी समस्याको तत्काल निराकरण गर्न अति आवश्यक भएकाले हामी सुनसरी जिल्लाका तत्काल उपलब्ध प्रदेश सभा सदस्यहरुले यो ध्यानाकर्षण माननीय मुख्यमन्त्रीज्यू समक्ष प्रस्तुत गरेका छौं ।’

View : 396

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved