मोरङ–५
विराटनगर । नेकपा एमालेबाट मोरङको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज अग्रवालले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र जिल्लामै पछाडि परेको भन्दै उनले पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र सुशासनलाई केन्द्रमा राखेर सोमबार पत्रकार सम्मेलनमार्फत प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनले आगामी पाँच वर्षभित्र क्षेत्रको समग्र मुहार फेर्ने दाबी गरेका छन् । भौतिक पूर्वाधारतर्फ रंगेली–विराटनगर जोड्ने हुलाकी मार्ग स्तरोन्नति, दक्षिणी सीमासम्म नयाँ सडक सञ्जाल विस्तार, वडा–वडामा कालोपत्रे तथा ढल–नाला निर्माण, घर–घरमा बिजुली, खानेपानी र सञ्चार सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले क्षेत्र नम्बर ५ को विकासमा ‘क्षेत्रीय विकास तथा पुनःनिर्माण कोष’ स्थापना गरी तीव्र विकासतर्फ अघि बढाउने योजना पनि उनले सार्वजनिक गरेका छन् ।
एमाले उम्मेदवार अग्रवालले रानी क्षेत्रका बन्द उद्योग पुनःसञ्चालन गरी ‘विराट औद्योगिक क्षेत्र’ घोषणा गर्ने प्रस्तावलाई महत्वका साथ उल्लेख गरेका छन् । त्यस्तै, युवा तथा महिलालाई लक्षित सीपमूलक तालिममार्फत स्वरोजगार प्रवद्र्धन र नयाँ उद्योग स्थापना गर्न सरकारी तथा निजी लगानी प्रोत्साहन गर्ने उनले बताएका छन् ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै धनपालथान र जहदा गाउँपालिकालाई विशेष कृषि जोनका रूपमा विकास गर्ने, डिप बोरिङमार्फत सिँचाइ विस्तार, सहुलियत मल–बीउ वितरण तथा बाढी नियन्त्रणका लागि तटबन्धन निर्माण गर्ने कार्यक्रम उल्लेख गरिएको छ । किसानको आय वृद्धि र कृषि करिडोर निर्माणमार्फत उत्पादन र बजार व्यवस्थापन सुदृढ गर्ने उनको भनाइ छ ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सामुदायिक विद्यालयको स्तरोन्नति, कम्प्युटर–इन्टरनेट सुविधा, नमुना विद्यालय स्थापना र क्याम्पसहरूलाई थप सुविधा सम्पन्न बनाउने योजना पनि प्रतिवद्धता पत्रमा समेटिएको छ ।
रंगेली अस्पताललाई आधुनिक बनाउने, नयाँ अस्पताल तथा प्राथमिक स्वास्थ्य चौकी स्थापना गर्ने र स्वास्थ्य बीमा कार्यक्रम सर्वसुलभ बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, होमस्टे प्रवद्र्धन, ऐतिहासिक स्थलहरूको पुनर्निर्माण र रिङरोड निर्माणमार्फत पर्यटन विकास गर्ने योजना पनि प्रतिबद्धतामा समावेश गरेका छन् ।
सीमावर्ती क्षेत्रमा सुरक्षा चौकी विस्तार, सुदखोरी र मिटरब्याजी नियन्त्रण, निःशुल्क कानुनी परामर्श तथा नागरिकता समस्या समाधानका लागि पहल गर्ने समेत उनले घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा अग्रवालले पार्टीको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई आधार मानेर क्षेत्र नम्बर ५ लाई विकासको मूलधारमा ल्याउने प्रतिबद्धता दोहोर्याएका हुन् ।
एमाले उम्मेदवार अग्रवालले आफ्नो प्रतिवद्धता पत्रमा धेरै कार्यक्रम र योजना समेटे पनि त्यसको कार्यान्वयनका लागि आवश्यक स्रोत कसरी सुनिश्चित गर्ने भन्ने विषयमा उनले मतदातालाई नै प्रश्न गर्ने जिम्मा छाडेका छन् ।
अग्रवालले आफूले अघि सारेको प्रतिवद्धताअनुसार जनमत प्राप्त गरेको खण्डमा क्षेत्र नम्बर ५ लाई क्षेत्रीय रुपमा पछि परिरहेको वर्तमान अवस्थाबाट अघि बढाउन कुनै पनि बाधा अवरोधले नरोक्ने दाबी गरेका हुन् ।
प्रतिवद्धता पत्र सार्वजनिकीकरण कार्यक्रममा नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य लालबाबु पण्डित, केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज ऋषिकेश पोखरेल, केन्द्रीय सदस्य पर्शुराम बस्नेत, पूर्व केन्द्रीय सदस्य रामलाल साहलगायतको उपस्थिति रहेको थियो ।
View : 166
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved