विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनले केपी शर्मा ओलीलाई पुनः नेतृत्व सुम्पिएसँगै पार्टीभित्रको आन्तरिक लोकतन्त्र र शक्ति सन्तुलनमाथि प्रश्न उठ्न थालेको छ ।
विशेषगरी अध्यक्ष ओलीका आफ्नै निर्वाचन क्षेत्र झापा–५ बाट केन्द्रीय नेतृत्वमा लागेको लर्कोले क्षेत्रीय सन्तुलन उपेक्षा गरेको भन्दै एमालेभित्रै आवाज उठ्न थालेको छ ।
झापा ५ बाट मात्रै पार्टी केन्द्रमा अध्यक्ष ओलीसहित १४ जना पुग्दा झापाकै अन्य क्षेत्रबाट भने नगण्य मात्रै पुगेका छन् ।
अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अलग–अलग प्यानलबीचको प्रतिस्पर्धा भनिए पनि ओली पक्षको एकलौटी जितले पार्टीमा सन्तुलनभन्दा भक्ति हाबी भएको भन्दै एमाले झापामा असन्तोष सुरु भएको छ ।
उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईबाहेकका १७ पदाधिकारी र बहुसंख्यक केन्द्रीय सदस्य ओली प्यानलबाटै निर्वाचित हुँदा ओलीकै क्षेत्रका धेरैले केन्द्रमा मौका पाएका छन् ।
एमालेको जग मानिने तत्कालीन नेकपा (माले) को २०३५ सालमा स्थापना हुँदा देशभरबाट जम्मा १२ सदस्यीय केन्द्रीय कमिटी थियो । तर, आज एमालेको ३०१ सदस्यीय विशाल केन्द्रीय कमिटीमा एउटै निर्वाचन क्षेत्र— झापा–५ बाट मात्रै अध्यक्षसहित १४ जनाले अवसर पाएका छन् ।
२५ सदस्यीय अनुशासन आयोग, जसको मर्यादा केन्द्रीय सदस्य बराबर हुन्छ, मा समेत सोही क्षेत्रका एक जना अटाएका छन् । यो तथ्यांकले एमालेभित्रको अवसर वितरणमा जहाँ शक्ति, त्यहीं अवसर भन्ने भाष्यलाई चरितार्थ गरेको छ ।
स्थानीय कार्यकर्ताहरु यसलाई व्यंग्यपूर्वक अध्यक्षको आशीर्वाद भन्छन् । झापा–५ का एक क्षेत्रीय नेता टिप्पणी गर्छन् ‘हाम्रो क्षेत्रमा अहिले बाहिर निस्कियौं भने पनि केन्द्रीय सदस्यसँग ठोक्किने अवस्था छ ।’
नातावाद र परिवारवादको छायाँ एमालेभित्र नीति र विधिभन्दा बलियो छ भन्ने उदाहरण सचिवमा निर्वाचित हिक्मत कार्कीको परिवारले यसपटक पेश गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कार्कीका दाजु दीपक कार्की केन्द्रीय सदस्य र भाउजू लीला कट्टेल कार्की अनुशासन आयोग सदस्य चुनिएका छन् ।
त्यस्तै, केन्द्रीय सदस्य निर्वाचित होमबहादुर थापा र उनका भाइ गोविन्द थापा तथा ओलीका नातेदार रोमनाथ ओलीसहितको पारिवारिक सञ्जाल पनि निर्वाचित हुन सफल भएको छ । केन्द्रीय सदस्यमा निर्वाचित थापा दाजुभाइ रोमनाथका ससुराली परिवार हुन् ।
एमालेको यो महाधिवेशनबाट झापा–५ को पनि दमक र गौरादह केन्द्रित नेतृत्व बढी चुनिएको छ । ओलीको स्वकीय सचिव भइसकेका इन्द्रप्रसाद भण्डारी, स्थानीय चुनावमा दमकको निर्वाचनमा पराजित गीता अधिकारी र निर्मला पाठक शिवाकोटी जस्ता दमक केन्द्रित नेताहरु सजिलै केन्द्रमा चुनिएका छन् ।
सोही क्षेत्रमा पर्ने गौरादहकी उपमेयर जलवर्षा राजवंशीबाहेक झापा–५ बाट छानिएका बाँकी १३ जना नै ब्राह्मण–क्षेत्री समुदायका छन् ।
केन्द्रीय कमिटीमा सोही क्षेत्रबाट पर्ने अन्य नेताहरुमा पूर्वमन्त्री देवेन्द्र दाहाल, मेनुका काफ्ले, सुनिता बराल पनि हुन् । त्यसो त दमककै नेता अम्बिकाप्रसाद खनाललाई पनि ओलीले यसपटक अनुशासन आयोग सदस्यमा चुनाव उठ्न भनेका थिए । तर, केन्द्रीय कमिटीमा उम्मेद्वारी नपाए उठ्दिन भन्दै खनालले ओलीको निर्देशन अवज्ञा गरेको एमाले स्रोतको भनाइ छ ।
‘उहाँले पनि आयोगमा उठ्न मानेको भए हाम्रो क्षेत्रबाट मात्रै केन्द्रमा १५ जना पुग्नेरहेछन्,’ क्षेत्रीय कमिटीका ती नेताले भने ‘तर, उहाँ आयोगमा जान चाहनु भएन ।’
गौरादहकी सुनिता बराल विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । सोही क्षेत्रबाट केन्द्रीय सदस्य बनेकी अर्की नेता मेनुका काफ्ले कमल गाउँपालिकाकी पूर्वअध्यक्ष हुन् ।
त्यसो त गौरादहकै बासिन्दा पूर्वमन्त्री अग्नि खरेल पनि केन्द्रीय सदस्य बनेका छन् । तर, उनी भने ईश्वर पोखरेल प्यानलबाट केन्द्रमा निर्वाचित हुने झापाका एक मात्र नेता हुन् ।
ओली समूहमै लामो समय रहेका उनले सो समूहबाट सचिवको उम्मेद्वारी नपाएपछि पोखरेल समूहबाट उममेद्वारी दिएका थिए । सचिवमा पराजित भए पनि उनी केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।
झापामा जम्मा पाँचवटा निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रमा गरी यसपटक सदस्यता नविकरण गर्ने एमाले संगठित सदस्य संख्या २० हजार हाराहारी रहेको एमाले झापाका एक नेताले जानकारी दिए ।
‘झापा–५ मा ४५ सय हाराहारी सदस्य होलान्,’ ती नेताले भने ‘झापामा सबैभन्दा धेरै पार्टी सदस्य भएको क्षेत्र झापा–२ हो ।’
झापाका अरु क्षेत्रबाट केन्द्रमा निर्वाचित हुनेको संख्या भने झापा–५ को दाँजोमा थोरै छ । झापा–१ बाट मीना उप्रेती एक जनाले केन्द्रीय सदस्य बन्ने मौका पाउँदा झापा–२ बाट चिन्तन पाठक, नीता घतानी र एलिसा गौतम गरी तीनजना केन्द्रमा निर्वाचित भएका छन् ।
झापा–३ बाट केन्द्रमा कोही पनि परेनन् । झापा–४ बाट मनोज ताम्ली केन्द्रीय सदस्य बनेका छन् ।
झापा–४ बाट दुई पटक संसद् सदस्य भइसकेका एलपी साँवा केन्द्रीय सदस्य बन्ने दौडमा थिए । तर, ओलीले उनलाई प्यानलमा राख्न नचाहेपछि उनले उम्मेद्वार बन्ने आँट नगरेको एमाले नेताहरुको भनाइ छ ।
एउटा क्षेत्रबाट धेरै जना र एकै समुदायका व्यक्तिहरु केन्द्रमा प्रतिनिधित्व हुँदा जातीय र क्षेत्रीय सन्तुलन नमिलेको तर त्यसो भन्ने हिम्मत आफूहरुमा नभएको झापाका एमाले कार्यकर्ता बताउँछन् । ‘सन्तुलन मिलाएर गरेको भए राम्रो हुन्थ्यो,’ एक नेताले भने ।
View : 287
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved