विराटनगर । कोशी प्रदेशको जैविक विविधताको अध्ययन गरी प्रोफाइल प्रकाशन गरिने भएको छ ।
विश्व वातावरणीय सुविधा (जीईएफ) को आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहयोगमा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत अध्ययन सुरू गरिएको जनाइएको छ ।
त्यसैगरी लैंगिक र जैविक विविधता–संवेदनशील स्थानीयस्तरको भूमि प्रयोग योजना प्रक्रियालाई सहज बनाउने विधि, स्रोत र सञ्चार सामग्रीहरूको विकास अनुकुलन कार्यसम्बन्धि पनि अध्ययन गरिने भएको जनाइएको छ ।
अध्ययनबाट कोशी प्रदेशको जैविक विविधताको हैसियत पत्ता लाग्ने, तथ्याङ्कहरू प्राप्त हुने, वनका प्रजाती, वन्यजन्तु, सुक्ष्म झाडी किरासम्मको अवस्था जानकारी हुने जनाइएको छ ।
एफएओको प्राविधिक सहयोगमा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत पाँच वटा जिल्लाहरु संखुवासभा पाँचथर ताप्लेजुङ इलाम र तेह्रथुममा वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिबृद्धि आयोजना तीन बर्षदेखि सञ्चालनमा रहेको एफएओ आयोजना व्यवस्थापन इकाई विराटनगरका आयोजना सहजकर्ता प्रशान्त नेपालले जानकारी दिए ।
जैविक विविधता प्रोफाइल तयारी र प्रकाशनका लागि इनोभेटिभ भिजन प्रालि काठमाडौं र लैंगिक र जैविक विविधता–संवेदनशील स्थानीय स्तरको भूमि प्रयोग योजना प्रक्रियालाई सहज बनाउने विधि र सञ्चार सामग्रीको विकास सम्बन्धी काम गर्न नेष्ट आइडिया हव इन्टरनेशनल जेभी काठमाडौंसँग सम्झौता भइसकेको जनाइएको छ ।
अध्ययनको सुरू हुनुअघि बिहीबार पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छलफल गरिएको हो ।
मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित छलफलमा कोशी प्रदेश वन निर्देशनालयका निर्देशक भरतबाबु श्रेष्ठ, एफएओका प्राविधिक सल्लाहकार बद्रीराज ढुंगाना, डिभिजन वन कार्यालय, वन अनुसन्धान केन्द्र, आयोजनाका कर्मचारी तथा एफएओका अधिकारीहरूको उपस्थिति थियो ।
View : 392
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved