Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पोखरिया माविले बाँड्यो ७ लाख ६४ हजारको छात्रवृत्ति

उद्‌घोष संवाददाता
१० असार २०८२, मङ्गलवार

विराटनगर । विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयले मंगलबार शैक्षिक वर्ष २०८१/८२ छात्रवृत्ति कार्यक्रम अन्तरगत ७ लाख ६४ हजार रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ । 

विद्यालयले विज्ञान समूहका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दै विभिन्न पुरस्कार प्रदान गरेको हो । कक्षा १ देखि १० सम्मका ३१ जना जेहेन्दार विद्यार्थीलाई जनही २ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको हो । 

विद्यालयले कक्षा १ देखि १० सम्मका ३० जना विद्यार्थीलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँका दरले पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।

त्यस्तै कक्षा ११ मा शैक्षित्र सत्र २०८१/८२ मा विज्ञानका २० जना र व्यवस्थापन तर्फका ५ जना विद्यार्थीलाई ५ लाख ७६ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान उनले बताए । 

गरिब तथा जेहेन्दार छात्रवृत्ति तथा विशेष प्रतिभा कार्यक्रम अन्तरगत गायत्री–भवानी भट्टराई स्मृति कोषबाट ५ जना र लक्ष्मी स्मृति कोषबाट २ जना विद्यार्थीलाई दुई हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको हो । 

सोही अवसरमा विज्ञान समूहका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो । 

विभिन्न शैक्षिक, अतिरिक्त र अनुशासन सम्बन्धी मुल्याङ्कनबाट उत्कृष्टता हासिल गरेका विद्यार्थीहरू पुरस्कृत भएका थिए ।

विद्यालयले निवृत्त शिक्षकलाई सम्मान समेत गरेको हो । निवृत्त शिक्षकहरूलाई प्रशंसा पत्र, माला, दोसल्ला र मायाको चिनो प्रदान गर्दै सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक भट्टराईले जानकारी दिए । निवृत्त शिक्षकहरूमा सुशीला खनाल, लक्ष्मणबाबु दाहाल, ताराविर श्रेष्ठ र राधिका शर्मा रहेका छन् ।

निवृत्त शिक्षक लक्ष्मणबाबु दाहालले शिक्षक पेसामा ३० वर्ष बिताउँदा हजारौं बालबालिकालाई शिक्षाको उज्यालो प्रदान गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौलाले विद्यालयले ठुलो संख्यामा छात्रवृत्ति प्रदान गर्न सफल भएको भन्दै यस्तो कार्यले सामुदायिक विद्यालयको शैक्षिक गतिविधि अझ बढेर जाने बताए । उनले विद्यार्थीहरूलाई अझ प्रोत्साहन र प्रतिस्पर्धी बनाउँदै लैजानु पर्ने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतमले पोखरिया माविले हरेक बर्ष आफ्नो उत्कृष्टता र शैक्षिक क्षेत्रमा अब्बल दर्जा हासिल गरेको बताए । गौतमले विद्यालयको कक्षा ९ का दीक्षित खतिवडा र मानस थापा अन्तर्राष्ट्रिय कराँतेमा प्रतिष्पर्धा गर्न थाइल्यान्ड पुग्न सफल भएको जानकारी दिए ।

कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयको उत्साहजनक उपस्थिति रहेको जनाइएको छ ।

View : 721

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved