Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

सातघुम्ती आगलागीमा दुईको मृत्यु, चार घाइतेलाई सेनाको जहाजबाट लगियो काठमाडौं

उद्‌घोष सम्वाददाता
२० मंसिर २०८०, बुधवार

विराटनगर, २० मंसिर : विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित एक कवाडीखानामा बुधबार दिउँसो करीव सवा २ बजेतिर भएको आगलागीमा घाइते भएका चारजनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

आगलागीको घटनामा दुईजनाको मृत्यु भएको छ । चारजना घाइतेहरु मध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले घाइतेहरुलाई जलनको गाम्भिर्यता अनुसार हवाई उद्दार गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार उक्त घटनामा गम्भीर घाइते भएका विराटनगर महानगरपालिका–६ की ६५ वर्षीया सुशिला पासवान र ६० वर्षीया रिता सरदार तथा घाइतेहरु विराटनगर–६ कै ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट किर्तिपुरस्थित बर्न हस्पिटल लगिएको जनाइएको छ ।

आगलागीमा परी विराटनगर महानगरपालिका–७ बस्ने करीव ३५ वर्षीय दिपक मण्डलको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

त्यसैगरी घटनास्थलमा तत्काल लिङ्ग नखुलेको थप एकजनाको जलेर मृत्यु भएको जनाइएको छ । घटनास्थलबाट शव निकालेर पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको जनाइएको छ । 

आगलागीको कारण खुल्न सकेको छैन । कवाडीमा कार्यरत कामदारहरुले कवाडीखानाभित्र केहि दिनयता विद्यूत सर्ट भइरहेको र मर्मतका लागि आग्रह गर्दा संचालकहरुले अटेर गरेको बताए । 

उनीहरुले दिउँसो खाना खाएर आराम गरिरहेको अवस्थामा अचानक पड्किएको आवाज आएको र आगो फैलिएको बताए । आफूहरुले भागेर ज्यान जोगाएको कवाडीखानाकी एक महिला कामदारले बताइन् ।

View : 239

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved