Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा पुस्तकालयसहित चार सम्मानित

उद्‌घोष संवाददाता
२० पुष २०८२, आइतवार

Advertisement

विराटनगर । नेपाली साहित्यका विशिष्ट विम्बवादी कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले भाषा र साहित्यमा अतुलनीय योगदान पुर्‍याउने तीन स्रष्टा र एक साहित्यिक संस्थालाई नगद राशिसहित पुरस्कृत गरेको छ। विराटनगरमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरिएको हो।

विगत पाँच दशकदेखि भारतको कालेबुङमा रहेर नेपाली साहित्यको श्रीवृद्धिमा सक्रिय वरिष्ठ साहित्यकार डा। राजेन्द्र भण्डारीलाई २५ हजार रुपैयाँ राशिसहित सम्मान गरिएको छ। उनको दीर्घकालीन साहित्यिक योगदानको कदर गर्दै प्रतिष्ठानले सो सम्मान अर्पण गरेको हो।

त्यस्तै, विगत तीन दशकदेखि कविता र कथा लेखनमा सक्रिय ज्योति जङ्गललाई १५ हजार रुपैयाँ र दुई दशकदेखि कवितामा कलम चलाउँदै आएका युवा कवि रमेशचन्द्र अधिकारीलाई ११ हजार रुपैयाँ नगद राशिसहित पुरस्कृत गरियो।

कार्यक्रममा धरानस्थित विमल गुरुङ स्मृति पुस्तकालयलाई ‘कृष्णभूषण बल स्मृति सेवा सम्मान’ प्रदान गरियो। सो सम्मान पुस्तकालयका संस्थापक पूर्णबहादुर गुरुङले ग्रहण गरे ।

मेयर कोइराला समारोहका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कृष्णभूषण बलको साहित्यिक योगदानले नेपाली समाजको वैचारिक संरचनालाई गहिरो प्रभाव पारेको बताए ।  उनले अगाडि भने, प्रतिष्ठान केवल पुरस्कार वितरणमा सीमित नभई स्मृतिलाई सिर्जनामा रूपान्तरण गर्ने अभियान हो। यसले नयाँ पुस्तालाई बौद्धिक रूपमा समृद्ध बनाउन मद्दत पुर्‍याएको छ।

 वरिष्ठ कवि तथा महाकाव्यकार सोमराज अभयले कृष्णभूषण बललाई  विम्बवादी कविका रूपमा चित्रण गर्दै नेपाली कवितामा उनको बेग्लै र अविस्मरणीय पहिचान रहेको चर्चा गरे ।

प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति प्रतिष्ठानका अध्यक्ष प्राडा टंकप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख संरक्षक शोभा लामा बल, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, उपाध्यक्ष केशव आचार्य, महासचिव तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कृष्णभूषण बलको योगदानमाथि प्रकाश पारेका थिए ।

समारोहमा नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, कविहरू शुभलक्ष्मी लम्साल, मीनकुमार नवोदित, धीरज राई र बलका सुपुत्र साईभूषण लामा  युवा कवि दीपक सम्चु लगायतको उपस्थिति थियो। 

View : 494

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved