विराटनगर । कोशी नदी बेसिनका सुनकोशी–दूधकोशीको उर्लिंदो बाढीले शनिबार उदयपुरबाट खोटाङ र भोजपुर जोड्ने तीनवटा मुख्य झोलुङ्गे पुल बगाएको छ । उदयपुरबाट खोटाङ जोड्ने ‘लाइफलाइन’ मानिएको फोक्सिङटार पुल पनि शनिबारनै कोशीको बाढीले बगाएको छ ।
खोटाङ जोडिने धाप्लाङघाट र बन्सिलाघाटका दुईवटा झोलुङ्गे पुल पनि पूर्णरुपमा बगेका छन् । त्यसैगरी उदयपुरबाट भोजपुरको हसनपुर जोड्ने चुहारझोलुङ्गे पुल कोशीकै बाढीले क्षतिग्रस्त बनाएको जनाइएको छ । बाढीले हसनपुरस्थित निर्माणाधिन चुहार पक्की पुलको संरचनामा समेत ठूलो क्षति पुर्याएको छ ।
कोशीको तीब्र बहावका कारण चुहार झोलुङ्गे पुलको एकातर्फको लठ्ठा चुँडिएर पुलमा क्षति पुगेको हो । त्यसैगरी पुलमा बिच्छ्याइएका स्टिलका पातासमेत बगाएको जनाइएको छ ।
जिल्ला जोडिने पक्की र झोलुङ्गे पुलहरु बगाएपछि आइतबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले स्थलगत अनुगमन गरेका छन् । उनले ठूलो जनदवावका कारण बल्लबल्ल निर्माण भएका महत्वपूर्ण पुलहरु बगाउँदो पूर्वी खोटाङको समग्र विकासमै धक्का लागेको बताए ।
सुनकोशीको बाढीले उदयपुरको चौदण्डी नगरपालिका–१ रखोटाङ जोडिने बाङ्सिलाघाटको बजार बगरमा परिणत भएको छ । त्यहाँका सातवटा घरमा क्षति पुगेको जनाइएको छ । स्थानीयका पशुचौपाका खोर गोठसमेत बगाएको छ । चौदण्डी–१ का वडाध्यक्ष सिताराम राईले ठूलो क्षति भएको जानकारी आएको बताए ।
यता सुनकोशीको बाढीको लेदो पसेर अवरुद्ध बनेको उदयपुर र ओखलढुंगा जोड्ने घुर्मी पुलको लेदो आइतबार पन्साएर यातायात सुचारु गरिएको छ ।
सडक विभागले जयरामघाटस्थित घुर्मी पुलको लेदो डोजर लगाएर पन्छाएको हो ।
निरन्तरको वर्षापछि उर्लिएको सुनकोशीको बाढी शनिबार उदयपुरको घुर्मी बजार र ओखलढुंगाको हर्कपुर जोड्ने पक्की पुलमाथिबाटै बगेको थियो । जसका कारण पुलसमेत जोखिममा परेको थियो ।
अहिले सुनकोशीको बहाव घटेका कारण पुलमा जम्मा भएको लेदो पन्साएर सडक यातायात सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सुनकोशी नदीमाथिको यो पुल बन्न दुई दशक समय लागेको थियो ।
View : 98
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved