Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङ प्रहरीको एक वर्षे अनुसन्धान, २३ सय १६ मुद्दामा २१ सय ८७ पक्राउ

उद्‌घोष सम्वाददाता
६ फागुन २०८०, आइतवार

विराटनगर । मोरङमा अपराध अनुसन्धान गर्ने क्रममा प्रहरीले एक वर्षमा २ हजार १ सय ८७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ सय ३९ जना महिला छन् । गत वर्षको माघ अन्तिमदेखि यस वर्षको माघसम्ममा दर्ता भएका २ हजार ३ सय १६ मुद्दामा यतिका मानिस पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख भएर दीपक पोखरेल आएपछि उनको कार्यकालमा दर्ता भएका मुद्दा मध्ये १ हजार ४ सय ५६ वटा फर्छ्योट भएका छन् भनें ८ सय ६० वटा बाँकी  छन् । सो अवधिमा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा ४ सय ६६ जना पक्राउ परेका थिए ।

मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका ब्यक्तिबाट ७० करोड ५४ लाख रुपैंयाँ बराबरको जरिवाना अशुल हुने भएको छ । यी मानिसले एक सय ८९ वर्ष ५ महिना ३ दिन जेल सजाय भुक्तान गर्नेछन् । पोखरेलको कार्यकालमा पुराना पेन्डिङ रहेका दुई वर्षे हदम्याद नाघेका ९ सय एक र म्याद बाहेकका ४ सय ३४ मुद्दा फर्छ्यौट भएको छ ।

सो अवधिमा मोरङ प्रहरीले पक्राउ गरेका १५ वटा सवारी साधन भन्सार कार्यालय र ४ वटा राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ । १९ सवारी साधनसहित २८ जना मानिस पक्राउ परेका थिए ।

साधनको मूल्य र हुण्डी कारोबारीबाट बरामदसहित १२ करोड ८१ लाख रुपैंयाँ कारवाहीका लागि भन्सार र बिभागमा बुझाइएको छ । एक वर्षमा प्रहरीले जिल्लामा एक हजार ३ सय ८३ किलो गाँंजा बरामद गरेको थियो ।

सो अवधिमा ७ वटा बन्दुक बरामद हुनुका साथै १० जना मानिस पक्राउ परेका छन् । एक वर्षको अवधिमा मोरङमा ट्राफिक ब्यवस्थापन गर्ने क्रममा ३७ हजार एक सय २२ जना कारवाहीमा परेका छन् ।

उनीहरुबाट जरिवाना स्वरुप २४ करोड ६९ लाख रुपैंयाँ राजश्व संकलन भएको छ । एक वर्षमा भएका ७ सय ३९ दुर्घटनामा ७२ जनाको मृत्यु र एक हजार एक सय ४४ जना घाइते भएको प्रहरीले बताएको छ । 

मोरङको बसाईका क्रममा हरेक खाले मुद्दामा कारवाही गर्न सफल हुनुमा आफ्नो टिमलाई जिम्मेवार मान्ने पोखरेलले धेरै प्रकारका घटनाको अनुसन्धान सफल पार्दा खुसी लागेको बताए । ‘सुनसरीमा प्रहरीबाट लुटिएको हतियार बरामद, पहिचानको आन्दोलनमा समन्वय गर्न सकिएका विषयहरुमा धेरै खुसी छु’ उनले भने । अपराध अनुसन्धानमा उनले बनाएको समूहले गर्दा आफूले उपलब्धि हासिल गरेको उनको भनाइ छ ।

पोखरेलले अपराधि प्रमाणित हुंँदै गरेको ब्यक्तिका बारे नेताहरुले दिने गरेको दवाबलाई भनें बेवास्ता गरेर अनुसन्धान गरेका थिए । मानिस पक्राउ पर्दा तत्काल छाड्न र छिटो मुद्दा अदालतमा बुझाउंन दिइने गरेका दवाव बारे चाहिं आफूलाई चित्त नबुझेको उनले बताए ।

‘मानिस छाड्न र छिटो मुद्दा बुझाउंने दिइएको दवाब नमानेकाले केही मानिस मबाट रुष्टपनि छन्’ पोखरेलले भने । पोखरेलको प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको छ ।

View : 227

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved