Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दै लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईद्वारा राजिनामा

राई फेसबुकबाट राजिनामा घोषणा गर्दैगर्दा भावुक भएर भक्किएका थिए । आफुले पार्टीका लागि जति काम गरेपनि पार्टी कहिल्यै आफ्नो हुन नसकेको गुनासो गरे ।
उद्‌घोष संवाददाता
५ माघ २०८२, सोमवार

Advertisement

विराटनगर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले आगामी प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र रुपमा लड्ने घोषणा गर्दै पदबाट राजिनामा दिएका छन् । 

माओवादी केन्द्रबाट दुई पटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । अध्यक्ष राई प्रतिनिधि सभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर २ बाट आकांक्षी थिए । तर अहिलेको नेकपाले उनको साटो माओवादीकै सुरेश कुमार राई (हिमाल) लाई उम्मेदवार बनाउने घोषणा गरेपछि अध्यक्ष राईले गाउँपालिका उपाध्यक्षलाई सम्बोधन गर्दै फेसबुकबाट राजिनामा दिएका छन् ।

उनले क्षेत्र नम्बर २ मा स्वतन्त्र रुपमा उम्मेदवारी दिने समेत घोषणा गरेका हुन् । आफुले दुईपटक अध्यक्षमा निर्वाचित भएर इमान्दारितापूर्वक काम गरेपनि पार्टीले मुल्यांकन नगरेको आरोप राईले लगाएका छन् । 

‘देश र जनताको अझ धेरै सेवा गर्ने उदेश्यले उदयपुर २ बाट उम्मेदवार बन्ने घोषणा गरेको छु, व्यक्तिगत आकांक्षा नभई जनताको अपेक्षा पुरा गर्न दृढ विश्वास हो भन्ने जानकारी गराउँदछु’ अध्यक्ष राईले भने, ‘दिनरात खटेर पालिकाको विकास गरेको छु, जनतालाई मनमा राखेर भाग्य भविष्य बदल्ने अठोट लिएको छु, मैले अझ माथिल्लो क्षेत्रबाट योगदान गर्न खोज्दैछु, परिवर्तन र सम्बृद्धिको सपना बोकेको युवालाई सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु, अव नयाँ शिराबाट सहयोग गरिदिन हुन आह्वान अपिल गर्न चाहन्छु ।’

राई फेसबुकबाट राजिनामा घोषणा गर्दैगर्दा भावुक भएर भक्किएका थिए । आफुले पार्टीका लागि जति काम गरेपनि पार्टी कहिल्यै आफ्नो हुन नसकेको गुनासो गरे । 

‘पार्टीको त कहिल्यै हुन सकिन, तर जनताको माया पाउने भाग्यमानी मान्छे भएको छु, २ नम्बर क्षेत्रमा सहकार्य आउँदैछु’ लाइभमा उनले भने, ‘पार्टीले न्याय नदिएपनि जनताले फैसला गर्नेछन्, म त्यो मान्न तयार छु, क्षेत्र नम्बर २ को आम युवा शक्ति र जनसमुदायमा मलाई विश्वास छ ।’

अध्यक्ष राई लामो समय वैदेशिक रोजगारीका क्रममा विदेश बसेर फर्किएका युवा हुन् । उनले फर्किएपछि नेकपा माओवादीबाट गाउँपालिकाको अध्यक्षको टिकट पाएर दुईपटक जितिसकेका छन् । केहिदिन अघिमात्रै नेकपाका संयोजक पुष्पकमल दाहाललाई समेत भेटेर आफु बलियो आकांक्षी भएको दाबी पेश गरेका थिए । तर पार्टीले आफुजस्ता रिटर्नीहरूको अपमान हुने गरी निर्णय गरेको उनले फेसबुक लाइभमा गुनासो पोखे ।

‘रिटर्नीहरु अपमानित छन्। हरेक पार्टीमा पिडित छन्, देशमा केही गर्न भनेर छोडेर आएका छन्’ उनले भने, ‘अब चुनाव चिन्हले केही फरक पर्दैन, के को लागि अघि बढेको भन्ने महत्वपूर्ण हुनेछ, चिन्हले मात्रै केही गर्ने भए यो देशमा धेरै कुरा भइसक्थ्यो, क्षेत्र २ मा जनताको शक्ति यसपाली देखिनेछ, पार्टीको टिकट त एउटा खोस्टा हो, सवैभन्दा ठुलो टिकट जनताको विश्वास हो, पार्टीका ठेकेदारहरूलाई तह लगाउनु पर्छ, विकासमा पछि परेको हाम्रो क्षेत्रलाई परिवर्तन गर्ने नेतृत्वका रुपमा अघि बढ्छु, क्षेत्र नम्बर २ ले परिवर्तन खोजेको छ, मलाई अहिलेसम्म सवैलाई सहयोग सम्झन चाहन्छु ।’

View : 346

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved