Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानीमा मतदानबाटै बञ्चित भए उपभोक्ता, मतगणना पनि अन्योल

उद्‌घोष सम्वाददाता
२१ जेठ २०८१, सोमवार

शनिबार भएको निर्वाचनका क्रममा निर्वाचन समितिका सदस्यहरुमाथि हुलहुज्जत गर्दै आक्रोसित मतदाताहरु । तस्वीर: उद्घोष

विराटनगर । मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नेतृत्व चयन प्रक्रिया विवादित बनेको छ । वर्तमान कार्यसमितिले निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन नसक्दा शनिबार तोकिएको मतदान नै बिथोलिएको छ । मतदान बिथोलिएको कारण उपभोक्ताहरुले मतदान गर्ने अधिकारबाट बञ्चित भएका हुन् ।

शनिबार साँझ मतदान जारी रहेकै अवस्थामा फर्जी मतदान भएको आरोप लगाउँदै केही उपभोक्ताहरुले निर्वाचन अधिकृतमाथि हातपातको प्रयास गरेपछि निर्वाचन बिथोथिएको हो ।

असुरक्षाका कारण मतदान गर्न नसकिने भन्दै निर्वाचन समितिले नै राजिनामा दिएपछि बाँकी रहेका उपभोक्ताहरुका लागि आइतबार विहान ८ बजेदेखि १ बजेसम्म गर्ने गरी तोकिएको मतदान अवधिमा समेत मतदान हुन नसकेको हो ।

उम्मेदवारहरुबीच शनिबार भएको मतदानलाई नै आधार मानेर मतगणना गर्ने विषयमा भएको छलफल पनि निश्कर्षहिन भएपछि मतदानदेखि गणनासम्मको प्रक्रिया अन्योलग्रस्त बनेको हो ।

निर्वाचन प्रक्रिया व्यवस्थित बनाउन नसक्दा करीव ६ हजार उपभोक्ता रहेको मानगढ खानेपानी आयोजनाको संस्थागत कार्यक्षमतामाथि समेत प्रश्न उठेको छ । 

निर्वाचन समितिका संयोजक नवराज दाहाल, सदस्यहरु अधिवक्ता बालकृष्ण आचार्य र अनिल खड्काले शनिबार राति आइतबार विहान ८ देखि दिउँसो १ बजेसम्म बाँकी उपभोक्ताहरुका लागि मतदानको समय तोकेर सूचना निकाले पनि उनीहरुले आइतबार विहान जिम्मेवारीबाट राजिनामा दिएका हुन् । निर्वाचनका क्रमका आफूहरुमाथि गलत आरोपहरु लगाएको भन्दै नैतिक रुपमा मतदान गराउन नसक्ने भन्दै राजिनामा दिएका हुन् ।

उनीहरुले खसेको मतको मतपेटिकालाई सिलबन्दी र मुचुल्का गरेर सुरक्षाकर्मीको रोहबरमा जिम्मा लगाएको विज्ञप्तिमार्फत जनाएका छन् । आफूहरुमाथि गलत आरोप लगाएर अवाञ्छित गतिविधि भएको उनीहरुले दाबी गरेका छन् ।

निर्वाचन समितिले नै राजिनामा दिएका कारण आइतबारको तोकिएको मतदान हुन नसकेको जनाइएको छ । मतदान हुन नसक्ने अवस्था बनेको भन्दै उम्मेदवारहरुबीच खसेको मतलाई नै सदर गरी मतगणना गर्ने विषयमा भएको छलफल समेत विनानिश्कर्ष टुंगिएको जनाइएको छ । केही उम्मेदवारहरुले निर्वाचनको सम्पूर्ण प्रक्रिया धाँधलीपूर्ण भएको भन्दै पुनः मतदान हुनुपर्ने माग राखेपछि मतगणना हुन नसकेको उपभोक्ताहरुले बताए ।

यसैबीच मतदानदेखि मतगणनासम्म अघि नबढेपछि सहमतिका लागि सोमबार बिहान जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठक आह्वान गरेको जनाइएको छ ।

निर्वाचन समितिले राजिनामा दिएपछि आइतबार नै वर्तमान कामचलाऊ समितिले अर्को निर्वाचन समिति गठन गरेको जनाइएको छ । अधिवक्ता महेश खड्काको संयोजकत्वमा सदस्यहरु अधिवत्ता महेन्द्र वस्ती र मतदान केन्द्र रहेको मोडर्न एरा बोर्डिङ स्कुलका राम घिमिरे सदस्य रहेको नयाँ निर्वाचन समिति गठन भएको हो ।

अध्यक्षका एक उम्मेदवार लालमणि भट्टराईले निर्वाचन करिव ३ हजार दुई सय मत खसिसकेको जानकारी निर्वाचन समितिले गराएकोले त्यसैलाई मानेर जाने विषयमा छलफल भएपनि टुंगोमा नपुगेको बताए । उनले उपभोक्ताहरुले कष्टपूर्ण रुपमा मतदान गर्नुपरेको र ५० प्रतिशतभन्दा धेरै मत खसेको आधारमा सोही मतलाई गनेर जान सकिने विषयमा आफूले लचकता अपनाएको बताए ।

सोमबार जिल्ला प्रशासन कार्यालयले समेत छलफलका लागि बोलाएका कारण त्यसपछि मात्रै के गर्ने भन्ने टुंगो लाग्ने उनले बताए ।

‘बाँकी मतदाताहरुलाई पनि मतदान गराउन सकिन्छ भने मतदान गराउँ भन्ने सुझाव दिएका थियौं, तर उहाँहरुले मतदान गराउन सक्नु भएन, अब उपभोक्ताको मतलाई सम्मान गरौं, हारजितलाई स्वीकार गर्न तयार छौं’ उनले भने, ‘३२–३३ सय उपभोक्ताहरुले मत दिएका छन्, त्यसले गर्दा त्यही मतलाई सम्मान गरौं, गणना गरौं ।’

मतपेटिकाहरु मतदान स्थल रहेको विराटनगर–३ स्थित मोडर्न एरा बोर्डिङ स्कुलको एउटा कोठामा सुरक्षा निकायको जिम्मेवारीमा सिलबन्दी गरेर राखिएको जनाइएको छ ।

View : 273

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved