विराटनगर, १ फागुन । मोरङ, झापा र सुनसरी जिल्लामा अर्धभूमिगत भएर स्कुल र कलेजहरुबाट चन्दा असुलीका लागि बम बिस्फोट गराउने योजना बनाइरहेका तीनवटा माओवादी समुहको योजना मोरङ प्रहरीले असफल बनाइदिएको छ ।
आज फागुन १ गते जनयुद्ध दिवसकै दिन पारेर विराटनगरको एउटा कलेजमा बम राखेर आतंकित पार्ने योजना बनाइरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उक्त समुहले विराटनगर–३ मा एकान्त ठाउँमा लुकाएर राखेको उक्त कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । कुकरलाई विस्फोट गराएपनि त्यसभित्र भने साबुनका डल्लाहरु रहेको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा इलामको माङ्सेबुङ गाँउपालिका–१ गजुरमुखी घर भई हाल काठमाण्डौस्थित भिमसेनगोलामा डेरा गरी बस्ने बर्ष ३८ को प्रवीण मिश्र र पाँचथरको याङ्वरक गाउँपालिका–१ बस्ने बर्ष करीव ३० वर्षीय विपिन अधिकारीलाई पक्राउ गरिएको जनाइएको छ ।
उक्त समुहले केही समयदेखि शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लेखिएको लेटरप्याड प्रयोग गरी चन्दा आतंक सुरु गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
चन्दा नदिए ध्वांसात्मक कार्य समेत गरिने भन्ने सुचनाका आधारमा यस कार्यालय तथा मातहतबाट सादा पोशाकमा प्रहरी परिचालन गरिएको र सीसीटीभी फुटेजहरु समेतका आधारमा उक्त समुहको खोजतलास गर्दा सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरुले विराटनगरका शैक्षिक संस्थालाई त्रसित बनाउन प्रेसर कुकरमा बम बनाई विराटनगर महानगरपालिका–३ स्थित घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको कार्यालयबाट करीव २०० मिटर पश्चिममा रहेको खाली चौरमा लुएको अवस्थामा प्रेसर कुकर फेला पारिएको प्रहरीको भनाई छ ।
उनीहरुको साथबाट विस्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, डेडकर्ड, सोडा आधी केजी, सहयोग रसिद २ ठेली, खाली खाम, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, मोबाइल ४ थान र एनसेलको सिम ६ थान बरामद गरिएको जनाइएको छ ।
‘हिजो दिउँसोतिर बिस्फोटक पदार्थ जस्तो वस्तुहरु कुनै निकायमा राख्ने प्रयोजनले ओसार पसार भएको सूचना प्राप्त भएपछि हामीले सम्भावित चन्दाका लागि टार्गेट हुनसक्ने संस्थाहरुसँग सम्पर्क गर्दा सीसीटीभी फुटेजहरुबाट प्रमाण संकलन गरेका थियौं’ एसपी पोखरेलले भने, ‘सोही क्रममा विपिन अधिकारीलाई नियन्त्रणमा लियौं, उनीसँगको सोधपुछबाट प्रविण भनिने व्यक्तिलाई पक्राउ गर्न सफल भयौं, साथबाट केही पर्चा, दस्तावेज र बिस्फोटक पदार्थहरु बरामद भएको थियो ।’
उनले राती नै बिस्फोटक पदार्थहरु सम्भावित ठाउँमा राखेर तर्साउने र चन्दा संकलन गर्ने उदेश्य देखिएको जानकारी दिए । प्रहरीले संवेदनशिलत भएर परिचालन भएका कारण उनीहरुको योजना विफल पारेको एसपी पोखरेलले बताए । पक्राउ परेका व्यक्तिहरु विगतमा उनीहरु नेकपा माओवादी (विप्लव), नेकपा माओवादी बैद्य र केही व्यक्ति नेकपा माओवादी (बहुमत) भन्नेसँग आवद्ध देखिएको प्रहरीले जनाएको छ ।
‘सवै संगठनसँग अलिअलि जोडिएर जम्मा भएर परिचालित भएको देखिन्छ, उनीहरु २०८० सालपछि नेकपा (माओवादी) मा महाविरको नेतृत्वको नयाँ संगठन विस्तार गर्न खोजेको देखिन्छ’ एसपी पोखरेलले भने, ‘आफ्नो महाधिवेशनका लागि ३५ सदस्यीय केन्द्रीय समिति तयार भएको देखिन्छ, जिल्लास्तरमा संगठन नबनेको र त्यसै महाधिवेशनका लागि रकम संकलन गर्ने अभियानस्वरुप चन्दा आतंक मच्चाएको देखिन्छ ।’
उनले मोरङसहित झापा र सुनसरी जिल्लामा पनि उनीहरुले केही व्यक्तिहरुबाट चन्दा संकलन गरिरहेको जानकारी आएको बताए ।
View : 630
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved